
ढोरपाटन ।
‘वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरू छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन,’ निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर २ वर्ष अगाडिसम्म वनमा पुगेर मागे सङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउथे ।
गत वर्ष बारीमा काम गर्ने बेला लडेर खुट्टा भाँच्चियो । अहिले लौरोको सहारामा घरभित्र बाहिर गर्छन् । माघे सङ्क्रान्ति घर आँगनमै भित्रियो तर गाउँमा तरुल खनेर ल्याउने युवा पाइँदैनन् । माघे सङ्क्रान्तिको विशेष परिकारका रूपमा लिइने तरुल वनबाट ल्याउनुको सट्टा बजारबाट किन्ने प्रचलन बढेको उनले जनाए ।
परम्परादेखि नै वन जंगलमा पशुचौपाया चरान जाने र माघे सङ्क्रान्तिका लागि एक महिना अगाडि नै तरुल खनेर ल्याउने गरे पनि अहिले त्यो प्रचलन नै हराएको उनको गुनासो छ । पहिले गाउँघरमा तरुल रोप्ने चलन नभएको तर जंगलबाट ल्याएर खाने परम्परा भए पनि अचेल बारीमा पनि लगाउने गरेको उनको भनाइ छ । पछिल्लो समय बारीमा पनि नलगाउने जनाउँदै बजारबाट किनेर ल्याउने गरेको उल्लेख गरे ।
गाउँमा कोही बस्ने भएन, पहिले टाढा जंगलमा पाइने तरुल अहिले नजिकै पाइन थालेका छन्
उनी भन्छन्, ‘जुग जमाना सबै फेरिए, हाम्रो पालामा वन जङ्गलमा पाइने चिज अहिले बजारबाट किनेर ल्याउँछन्, तरुल त वन जंगलमा जहाँ ओसिलो ठाउँ छ, त्यही फल्ने गथ्र्यो, गाई वस्तु चराउन जाने, दिनभरि तरुल खन्नेर साँझ एक बोरा बनाएर ल्याउने गथ्र्यौ, पछिपछि विकासी तरुल बारीको कुनामा पनि लगाएर खाने गर्थे, तर अहिले बजारबाट लिएर आउँछन्, मान्छेहरू परनिर्भर भए, वनमा जाने हो भने फ्रिमा जति पनि तरुल खनेर ल्याउन सकिन्थ्यो ।’
ढोरपाटन नगरपालिका ३ का पिताम्बर खत्रीले अचेल धेरै जसो मान्छेले बजारबाटै तरुल किनेर ल्याउने गरेको भन्दै स्थानीय स्तरमा उत्पादन गर्न छोडेको जनाए । वन तरुल जस्तो स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक बजारमा पाइने तरुल नहुने उनको अनुभव छ ।
पहिले वनमा पुगेर धेरैले तरुल ल्याउने हुँदा टाढा टाढा पुग्नु परेको सुनाउँदै अहिले गाउँमा कममात्रै बस्ने हुँदा नजिकमा पनि प्रशस्तै पाइने खत्रीले बताए । ‘गाउँमा कोही बस्ने भएन, पहिले टाढा–टाढा वन जंगलमा पाइने तरुल अहिले नजिकै पनि पाइन थालेका छन्, तर घर नजिकैको तरुल खन्नका गाह्रो मानेर बजारमा गएर किटनासक औषधि हालेका तरुल किनेर ल्याउँछन्’, उनले भने, ‘मैले यसपालि २० किलो जति वन तरुल ल्याएर छरछिमेकीसँग बाँडे, यति भएपछि माघे सङ्क्रान्ति राम्रैसँग बनाइएला भन्ने लागेको छ, अरुले त्यत्ति महत्व हुँदैन, माघे संक्रान्तिमा यसको महत्व धेरै हुन्छ ।’
बजारमा आयातीत तरुलको माग निकै बढेको स्थानीय व्यवसायी थमबहादुर क्षेत्रीले बताए । एक हप्ता अगाडि बुटवलबाट दुई क्विन्टल तरुल ल्याए पनि पु¥याउन नसकेको उनी सुनाउँछन् । पहिले गाउँमा किसानले उत्पादन गरे बेच्न ल्याउने गरेकोमा अहिले भने आइनै छोडेको उनको भनाइ छ ।
बजारमा ५० देखि ९० रुपैयाँसम्म तरुलको किनबेच हुने गरेको छ । उनले एक हप्ता अगाडिसम्म ४० रुपैयाँमै सेतो तरुल पाइने गरेको जनाउँदै अहिले ८० रुपैयाँसम्म पुगेको उल्लेख गरे ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया