सम्पादकीयः सडक दुर्घटनाबारे संवेदनशील बन

पछिल्लो साना भएका ठूला तीन सडक दुर्घटनामा दुई दर्जनको ज्यान गयो । नेपालमा हवाइ दुर्घटना हुँदा ठूलै चर्चा हुन्छ, छानबिन समिति बन्छन् । गत वर्ष भएको यति एअरको विमान दुर्घटनाको सोमबार वार्षिकी हो । दुर्घटना फेरि पोखरेलीले स्मरण गरे तर दुर्घटनापछि अरु दुर्घटना टार्न अपनाउनुपर्ने संवेदनशीलता भने लागू गरिएको देखिँदैन । पछिल्लो समय ठूलो संख्यामा सडक दुर्घटनामा मानवीय क्षति हुँदा सिंगो मुलुकलाई नै स्तब्ध बनाएको छ । घटनापछि सरकार वा जिम्मेवार निकायहरुले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेरमात्र पुग्दैन, यस्ता घटनाको यथार्थ अध्ययन गरेर आगामी दिनमा दुर्घटना बढ्न नदिनेतर्फ कदम चाल्नु जरुरी हुन्छ । दुर्घटना आकस्मिक रुपमा आउने विपत् हो । यो कसैले चाहेर हुने होइन तर सबै पक्षको गम्भीरता हुने हो भने यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गर्दछन् । भालुबाङ दुर्घटनापछि दुुई खाले तथ्य बाहिर आएका छन् । मानवीय त्रुटिका कारण ठूलो संख्यामा मानवीय क्षति हुनु अन्ततः सम्बन्धित परिवार, समाज र राष्ट्रका लागि ठूलो क्षति भएको छ । यस्तो स्थिति आउन नदिन सरकारले यस्ता दुर्घटनाको यथार्थ अध्ययन गरेर आगामी कदम चाल्न ढिलाइ गर्नु हुँदैन । नेपालको संविधानले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्न यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिंदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित बनाउने परिकल्पना गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न समयमा राज्यको तर्फबाट अध्ययन पनि हुन गरेका छन् । प्रायः अध्ययनले जीर्ण तथा पुराना सवारी साधन, व्यावसायिक तालिम प्राप्त सवारी चालकको अभाव, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्य प्रणाली नहुनु र सवारी साधनको नियमित र व्यवस्थित परीक्षण प्रणाली नहुनुलाई दुर्घटनाका कारणको रुपमा उल्लेख गर्ने गरेका छन् । नेपालमा औसत दैनिक ८ जनाको दरले सडक दुर्घटनामा मृत्यु हुने र वर्षमा २ हजार ५ सयभन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।
क्षतिको तुलनामा क्षति न्यूनीकरणतर्फ ध्यान नदिंदा पुनः अर्को दुर्घटना निम्तिने गर्दछ । मुलुक संघीय संरचनामा गएकाले सवारी सुरक्षासम्बन्धी नीति निर्माण र कार्ययोजनाको जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकारको साझा विषय हो । दुर्घटना घटाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गरी कार्यान्वयन गर्नु जरुरी छ । यसतर्फ सरकारको ध्यान गएको देखिदैन । जनस्तरबाट पनि दुर्घटनाबारे चर्चा र बहस हुने तर त्यसपछि बिर्सने गरेको पाइन्छ । सडक दुर्घटनाका कारण पहिचान गरी ती कारण हटाउने योजनावद्ध प्रयास थाल्न ढिलो भइसकेको छ ।
तपाईको प्रतिक्रिया