गाउँमा विकास छ, मान्छे छैन

कान्ति न्यौपाने २०८० माघ २ गते ११:५८

बेहुली अन्माएर पठाएपछिको घरजस्तो सुनसान र उराठलाग्दो भएछ, तल्ला घरकी साइली आमाको घर । उमेरले ८४ पुग्नै लागेकी उनलाई म गाउँ जाँदा नभेटी फर्किन्न थिएँ । यो पटक उनको घरमा पुग्दा धेरै नरमाइलो लाग्यो । पूरै सन्नाटा, घर वरिपरि झाडी नै झाडी, वरिपरिको खेतबारी सबै बाँझो देख्दा कताकता नराम्रो लाग्यो ।

Advertisement


कुनै बेला २५ जनासम्म अटेको उक्त घर साइलीआमा एक्लै रूँगेर बसेकी थिइन् । धेरैअघि पनि होइन आजभन्दा १० वर्ष अघिसम्म पनि उनको घरभरि मान्छे थिए । ६ जना छोरा, ६ जनै बुहारी र ४ जना छोरी भएको उनको घर सधैं चाडबाडमा पाहुन आएजस्तो भरिभराउ हुन्थ्यो । गाउँभरिमै धेरै मान्छे भएको परिवारमा थियो उनको घर ।


उनका श्रीमान छोराछोरी सानै हुँदा बितेपछि जसोतसो हुर्काएकी साइली आमाको भरिभराउ घर निकै उराठलाग्दो बनेछ । कतिपय छोरा विदेशिए भने कतिपय काठमाडौंमा आ–आफ्नो परिवारसहित बसेका छन् । उनका छोरीहरू पहिले नै बिहे गरेर श्रीमानको घर लागिहाले ।


साइली आमाले मलाई देख्नेबित्तिकै आँखाभरि आँसु पारेर पिर्कामा बस्न अनुरोध गरिन् । म एकछिन उनको दुखेसो सुनेर बसेँ । आँखाभरि आँसु पारेर उनले विगतलाई सम्झिइन् ।


उनको चाउरी परेको अनुहार, ८४ पुगेको उमेर र विरक्त लाग्दो गाउँ देखेर काठमाडौं फर्किएको कतिसम्म पनि मन दुखिरह्यो । उनीसँग अहिले दुःखसुखका कुरा गर्ने, सुनिदिने कोही छैन । कालको पर्खाइमा छु नानी म त भन्दै उनले मन दुखाइरहिन् बरू ।
अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ । आजभन्दा १० वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुने लागिरहन्छ । हुन त गाउँ त्यस्तै त भएको छ । न त्यो समय छ, न ती साथी, न ती मान्छे ।

Advertisement


राजधानीबाट नजिकैको गाउँ भए पनि धेरै पछिसम्म पनि हाम्रो गाउँमा पानीको अभाव थियो, घट्टबाट धान मकै कुटेर ल्याएको मलाई याद छ, चिउरा कुट्न गाउँभरिका मान्छेहरू दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन । गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन । तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ ।

गाउँमा मान्छे मर्दा लास लैजाने कोही छैनन् । तसर्थ अचेल मान्छेले होइन, लासले जलाउने मान्छे कुरेर बस्नुपर्ने बाध्यता छ


शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन् । केबल मृत्युको पर्खाइमा रहेका बुढाबुढीहरू गाउँ कुरेर बसेका छन्, यो देख्दा अचेल पटक पटक मन दुखिरहन्छ ।


केही हप्ताअघि म विशेष कामले एक हप्ता गाउँमा गएर बसेँ । त्यो समयमा बचपनमा मसित खेल्ने मेरा उमेरका मभन्दा साना–ठूला कोही साथी पनि गाउँमा भेटिएनन् । अधिकांश त विदेश गइसकेका छन् भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन् ।


गाउँमा बसिरहँदा लुकीडुम, दौड, फुटबल, चुंगी र एकखुट्टे खेलेका हरेक ठाउँहरू पुनर्ताजगी भए । ठाउँ त त्यस्तै नै छ अलिकति बढी विकास पुगेकोमात्रै हो । तर ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्तिहरू कोही छैनन् । त्यतिका वर्षसम्म आफू खेलेको, हुर्केको, पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रैछ ।


अर्कोतर्फ, गाउँमा मनाइने धेरै संस्कृति र संस्कारहरू पनि लोप हुँदै गएका छन् । अचेल दसैं तिहारमा गाउँमा पिङ हाल्ने चलन हटिसकेको छ भने हालेको ठाउँमा पनि पिङ खाली हुन थालेको छ । अर्कोतर्फ गाउँमा बिहेवारी हुँदा गाउँभरिका मानिस जुटेर विवाह सम्पन्न गर्ने चलन हराइसकेको छ ।


गाउँमा मान्छे मर्दा लास लैजाने कोही छैनन् । तसर्थ अचेल मान्छेले होइन, लासले जलाउने मान्छे कुरेर बस्नुपर्ने बाध्यता छ । मन्दिर, घाट, पार्टीपौवा, र भवनहरू सबै माकुराको जालोले भरिएका छन् । विभिन्न नाच, पूजाआजा र पर्वहरू मानिसको अभावमै लोप भइरहेका छन् । कतिपय पर्यटकीय सम्भावना बोकेका स्थल र ऐतिहासिक महत्वका स्थानहरू समेत संरक्षणको अभावमा जीर्ण हुँदैछन् ।


अहिले गाउँमा विकास भने धेरै पुगेको छ । कुनै समय पानीको लागि घण्टौँ धाएर गाग्रीमा पानी बोक्नुपथ्र्याे भने अहिले घरघरमा धारो छ । कुनै समय उत्पादन भएको दूध बेच्ने ठाउँ थिएन भने अहिले घरघरमै दूध लिने मान्छे आइपुग्छ । घण्टौं हिँडेर पुगिने ठाउँमा गाडीको सुविधाले २० मिनेटमै पुग्न सकिने भएको छ ।


घरनजिकै स्कुल छ, स्वास्थ्य संस्था छ । स्थानीय तहले पनि किसानलाई प्रोत्साहनका लागि धेरै कार्यक्रम ल्याएको छ । उन्नत जातका पशु दिनेदेखि विभिन्न तालिम र बिउविजन गाउँमा सहजै पाइन्छ । आगोमा फुँ–फुँ गरेर धुवाँ खाँदै पकाउनुपर्ने युगलाई ग्याँस र इन्डक्सनले विस्थापित गरेको छ । उत्पादन भएका धान, मकै र तरकारी लिन घरमै गाडी आइपुग्छ । विडम्बना गाउँमा सुविधा पुगेको छ तर मान्छे कोही छैन । भएका युवाहरू पनि फ्रस्टेड भएर विदेशिसकेका छन् । अनि आफू पनि गाउँ पुग्दा विरक्त लाग्ने अवस्था बनिसकेको छ ।


अर्कोतर्फ गाउँमा शिक्षाको पनि उस्तै सुविधा पुगेको छ । विद्यार्थीलाई दिवा–खाजाको व्यवस्था गरिएको छ भने धेरै दाताले स्कुलमा कपी, किताब र खेलकुदका सामग्री निःशुल्क वितरण गरिरहेका छन् । जबकि केही वर्षअघिसम्म हामी हाफछुट्टीमा लप्सी, अम्बा खोजेर खान्थ्यौं भने कतिपय साथीहरूले कापीसमेत किन्न नसक्ने अवस्था थियो ।


चकले ब्ल्याकबोर्डमा लेखेर चौरमा समेत बसेर पढेको अनुभव मलाई छ । त्यत्ति हुँदा पनि विद्यार्थी भरिभराउ हुन्थे । घर बस्दा र घुम्न जाँदा लगाउने लुगासमेत स्कुल ड्रेस नै हुन्थ्यो । अहिले गाउँको स्कुलमा पनि सुविधासम्पन्न भवन बनिसकेको छ । कम्प्युटर, ह्वाइट बोर्ड, इन्टरनेट र प्राविधिक शिक्षकहरू पढाउन पुगेका छन् । हाम्रो समयमा जस्तो फोहोर ट्वाइलेट पनि छैन । सुविधा जति पुगे पनि स्कुलमा विद्यार्थी छैनन् । विद्यार्थी बिनाको स्कुल र सुविधाको पनि के अर्थ छ र ?


तीन तहकै सरकारले गाउँ गाउँको बजेटमा बर्सेनि वृद्धि गरिरहेका छन् । मानिस नभएका ठाउँमा विकास मात्रै गरेर के गर्ने ? प्रयोग नै नहुने बाटो, विद्यार्थी नै नभएको स्कुलको भवन, पूजा गर्ने मानिस नआउने मन्दिर र खानेपानीका पाइप बिच्छाएर के गर्ने ? यी सबै भौतिक सुविधा प्रयोग गर्ने गाउँका युवा कोही छैनन् ।


अब सुविधा बढाउनेभन्दा पनि गाउँ गाउँमा सुविधाको उपयोग गरेर विकास गर्ने नागरिकको खाँचो छ । सहरमा मात्रै केन्द्रित भएको बस्तीलाई गाउँ गाउँमा पनि आकर्षित गर्ने खालका योजना ल्याउनु जरूरी छ । सो खालका अवसर गाउँमा पुगेमात्रै अब युवा गाउँमा बस्छन् । अन्यथा, सामान्य भौतिक पूर्वाधारको विकासले मात्रै कोही पनि गाउँघरमा बस्ने अवस्था छैन । युवा आकर्षित हुने काम सरकारले नगरेसम्म गाउँको विकासले अर्थ नराख्ने भइसक्यो ।


समय धेरै परिवर्तन भइसकेको छ । एउटा पुस्ताहरू सकिनेबित्तिकै गाउँहरू खाली बन्ने अवस्था आइसकेको छ । जसले गर्दा उत्पादन हुने जमिन बाँझिएको छ भने भएका युवाशक्ति सबै विदेशमै हुने सम्भावना बढेको छ । मानिस नभएका ठाउँमा विकासको सुविधा पु¥याएर मात्रै पनि त्यसबाट उपलब्धि केही हुने देखिँदैन ।


तसर्थ, गाउँको बसाइसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत, साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा देशको अवस्था थप भयावह बन्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया