फिर्के पुल असारसम्म पूरा गर्न निर्देशन

समाधान संवाददाता २०८० माघ ३ गते ११:०३

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलीले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथि निर्माणाधीन पुलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

Advertisement


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल नेतृत्वको अनुगमन टोलीले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २, ४ र ५को सिमानामा पर्ने सो पुलको निर्माण असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।


पुलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको छ । पुल नबन्दा अत्यधिक दुर्घटनासमेत हुने गरेको जनगुनासो बढेपछि स्थलगत अनुगमन गरेर कामलाई तिब्ररूपमा गुणस्तरीय तवरले सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख पौडेलले बताए ।

Advertisement


विकास समयमा गुणस्तरीय तवरले हुनुपर्‍यो जनताले कुनै गुनासो नगर्ने गरी आयोजनाका काम गर्नुस्, कुनै पनि बहानामा विकासमा ढिलासुस्ती गर्ने र जनतालाई दुख दिने काम कुनै हालतमा सह्य हुँदैन प्रमुख पौडेलको कथन थियो । पौडेलले विभागीय कार्यालयहरूले सञ्चालित आयोजनाहरूको मासिक कार्यप्रगति विवरण तयार गर्दै कठिनाइहरूको निराकरणमा घनिभुत तवरले लाग्न अनुरोध गरे ।


पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, ४ का अध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष विष्णु बराल र जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी नवराज बराल, सरोकारवाला कार्यालय सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला, इन्जिनियर र प्राविधिकसहित अनुगमनमा पुगेका पौडेलले कुनै एक पक्षमात्रै कमजोर तवरले लागेमा निर्धारित लक्ष्य पूरा नहुने भन्दै सबै निकाय जिम्मेवारीका साथ लागे मात्रै समृद्धि सम्भव हुने विचार राखे ।

Advertisement


जिल्ला समन्वय समिति कास्कीमा आफ्नो नेतृत्वको समिति आएपछि विकासमा हुने लापरबाही र जनताका गुनासा सुनेर समन्वय सहजीकरणका लागि गुनासो डेस्क राखिएको भन्दै पौडेलले कास्कीका विकास निर्माण र कार्यालयहरूको सेवा प्रवाहमा समेत कहिँ कतै कमजोरी भेटेमा तत्काल आफुहरूलाई खबर गर्न स्थानीय सरोकारवालाहरूसहित सम्पूर्ण कास्कीवासीलाई आग्रह समेत गरे । २०७५ सालमा सम्झौता भएर ३० महिनामा सक्नुपर्ने उक्त पुलको काम पटकपटक म्याद थप हुँदै पछिल्लोपटक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया