सम्पादकीयः महाभूकम्पबाट सिकौं

नेपाल सरकार तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने संघ संस्थाले २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० मनाएका छन् । ‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गरौं, स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने नाराका साथ सो दिवस मनाइएको हो । २ माघ १९९०मा गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
विस १९९० को भूकम्प पछि नेपालमा १२ वैशाख २०७२मा शक्तिशाली गोरर्खा भूकम्प गएको छ । १७ कात्तिक २०८०मा नेपालले जाजरकोटलाई केन्द्र विन्दु बनाएको सामना गर्नु परेको छ । सो भूकम्पले पनि मानवीय र भौतिक क्षति गरेको थियो ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक क्षतिको समाना गर्नु परेको छ । भूकम्प पूर्व सूचना दिएर आउँदैन । भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले मानव तथा जीव जन्तुलाई मार्ने हैन बरु भूकम्प आएपछि मानिसले बनाएका घर तथा भौतिक संरचनाले किचेर जनधनको क्षति हुन्छ । मानिसले गलत तरिकाले बनाएका भौतिक पूर्वाधारहरु जिम्मेवार भएकोले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनु पर्ने देखिन्छ । अझैपनि धेरै संरचना जीर्ण र परम्परागत शैलीमा बनाइएका छन् । त्यस्ता कमजोर संरचनाको सवलीकरण गर्न राज्यका निकाय, समुदाय र संघ संस्थाले ध्यान दिनु आवश्यक छ ।
भूकम्पीय जोखिमबाट सुरक्षित रहन प्रयाप्त रुपमा पूर्व तयारी अपनाउनु पर्छ । भूकम्पपछिको राहात उद्वार र पुनस्थापनाको लागि व्यवस्थित योजना बनाएर काम गर्नु पर्छ । भूकम्पीय जोखिमका दृष्टिले सुरक्षित आवास निर्माणमा जोड दिनुका साथै भूकम्पबाट सुरक्षित समाज अनि पूर्वाधारहरु आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्छ । सबै सरोकारवाला निकायले सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तरता दिनु पर्छ ।
विस १९९० सालका भूकम्प आधुनिक नेपालले भोगेको सबभन्दा ठुलो र विनासकारी भूकम्प हो । सो भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्नु आवश्यक छ । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्छ । विपद् सम्बन्धी सूचनाको आदान प्रदान र हरेक काममा समन्वय र सहकार्य गर्नु पर्छ । तीन तहको सरकारले नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालनामा जोड दिए भूकम्पबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया