पोखरा १५ मा खेलकुद महोत्सव

समाधान संवाददाता २०८० माघ ३ गते ११:५५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा नं. १५ स्तरीय दोस्रो खेलकुद महोत्सव २०८० सुरु भएको छ । संविधान सभा सदस्य विद्यादेवी भट्टराईले महोत्सव उद्घाटन गरिन् ।

Advertisement


उनले खेल क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्तर्राष्ट्रिय पदक जितेको बताउँदै उनले अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने उनको भनाइ छ ।


आयोजक पोखरा १५ का अध्यक्ष तोरण बानियाँले वडावासीबिच भाइचारा प्रगाढ पार्दै नागरिकलाई स्वस्थ बनाउन वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाए । महोत्सवमा वडावासीले देखाएको उत्साहले थप ऊर्जा प्राप्त भएको उनको भनाइ छ ।

Advertisement


प्रतियोगिता संयोजकसमेत रहेका वडा सदस्य आशीष भण्डारीले गत संस्करणको खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीले पोखरामा आयोजना भएका विभिन्न प्रतियोगितामा उपाधि जित्दै वडाको गौरब बढाएको जनाए । वन विज्ञान अध्यायन संस्थानको मैदानमा सुरु प्रतियोगिताको उद्घाटन समारोहमा वडा सदस्य मन्दिरा परियारले पनि बोलेकी थिइन् ।


त्यसअघि वडा १५ भित्र रहेका झण्डै ढेड दर्जन संघ, संस्थाले खेल मैदानमा मार्च पास गरेका थिए । ३ दिने खेलकुद महोत्सवमा खुला फुटबल, विद्यालय स्तरीय फुटबल, महिला तथा पुरुष भलिबल, बास्केट बल, महिला तथा पुरुष दौड, ब्याडमिन्टन, रस्साकसी लगायत विभिन्न खेलमा झण्डै १२ सय खेलाडीले भाग लिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया