
पर्वत ।
पर्वतमा उत्पादनको हिसाबले मुख्य बालीका रूपमा रहेको मकै बाली विस्तार गर्न चालु आर्थिक वर्षमा ६६ लाख लगानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजनाका लागि उक्त रकम लगानी गर्ने भएको हो ।
मकै खेती भइरहेको जिल्लाको करिब ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा मकै बीउ तथा मकै बाली उत्पादनका लागि किसानलाई अनुदानस्वरुप ६६ लाख वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवद्र्धनका लागि ३० लाख, बीज वृद्धि कार्यक्रमका लागि २० लाख, यान्त्रिकीकरण तथा पूर्वाधार निर्माणका लागि १० लाख र बजारीकरणका लागि ६ लाख लगानी गरिने भएको हो । यसमध्ये ३० हेक्टर क्षेत्रफलमा मकै बाली विस्तार गरिने भएको छ भने २० हेक्टर क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिने वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए ।
क्षेत्रफल विस्तारका लागि कम्तीमा १० घरपरिवार संलग्न भएको समूह वा सहकारीमार्फत १ सय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने प्रावधान छ । मकैको मूल बीउ उत्पादनका लागि कम्तीमा १० परिवार संलग्न समूह वा सहकारीमार्फत २० रोपनी क्षेत्रफलमा बीउ उत्पादन गर्नुपर्ने उल्लेख छ ।
कार्यालयका अनुसार मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ अनुसार बीउमा बढीमा ७५ प्रतिशत, सिँचाइ लगायत पूर्वाधार निर्माणमा ९० प्रतिशत, यान्त्रिकीकरणतर्फ बढीमा ७५ प्रतिशत र बजारीकरणतर्फ बढीमा ५० प्रतिशत अनुदान किसानलाई वितरण गरिने भएको छ ।
मकै बाली तथा बीउ उत्पादन गर्न चाहने किसानले वडा कार्यालय वा कृषि शाखाको सिफारिस, जग्गाको लालपुर्जा वा करार सम्झौताको प्रतिलिपि, कृषक समूह, सहकारी वा साझेदारी फर्म दर्ता प्रमाणपत्र, पान वा भ्याटको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि २०७७ र मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड २०७९ मा भएको व्यवस्थाअनुसार कार्यक्रम सञ्चालन गरिने केन्द्र प्रमुख अधिकारीले जानकारी दिए ।
पर्वतमा गत वर्ष सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ६० हेक्टर क्षेत्रफलमा १ सय ३० मेट्रिक टन मकै उत्पादन भएको थियो । मकैको बीउ साढे २३ मेट्रिक टन उत्पादन भएको थियो । पर्वतमा १३ हजार ९ सय ४० हेक्टर क्षेत्रफलमा मकै बाली उत्पादन हुँदै आएको छ भने वार्षिक ३३ हजार ४ सय ५० मेट्रिक टन उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
मकै बालीमा पर्वत आत्मनिर्भर हुनाका साथै वार्षिक १४ हजार मेट्रिक टन मकै निर्यातसमेत हुने गरेको कार्यालयको तथ्यांक छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया