भूकम्प सुरक्षा दिवस मनाइयो

समाधान संवाददाता २०८० माघ ४ गते ११:१२

पोखरा ।
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय कास्कीले अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख सुुरेन्द्रप्रसाद शर्माले सहजीकरण गरेका छन् ।

Advertisement


प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले कार्यक्रम उद्घाटन गर्दै भूकम्पीय जोखिमको बारेमा प्राय सबै नागरिकलाई थाहा भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । ‘भूकम्प प्रतिरोधी नहँुदा आफैंले बनाएर घरले पुरिएर मान्छेको मृत्यु भएको छ,’ उनले भने, ‘भूकम्पको कारण हुन सक्ने क्षतिको बारेमा धेरैलाई थाहा छ । तर नेपालीको बिर्सने बानी छ ।’ उनले राज्यका निकायले भूकम्पबाट हुने सक्ने क्षतिलाई रोक्न सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।


कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सिंगो समुदाय सचेत भएको खण्डमा भूकम्पीय जोखिमबाट बच्न सकिने तर्क गरे । मानवीय कमजोरी र त्रुटिका कारण भवन तथा घरहरुले धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै घिमिरेले कमजोर संरचनाको सबलीकरणमा राज्य, व्यक्ति र समुदायको ध्यान पुग्न पर्ने बताए । उनले भूकम्प जानुभन्दा अगाडिको पूर्व तयारी, राहात, उद्धार र पुनस्र्थापनामा समन्वय र सूचना आदानप्रदान गर्नु पर्ने उल्लेख गरे ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्यप्रसाद ढकालले महाभूकम्पले सबैलाई गम्भीर र संवेदनशील बनाएको बताए । स्थानीय तहको अग्रसरतामा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने चर्चा गर्दै उनले राहात, उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।


पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख शर्माले भूकम्प आफैंले ज्यान नलिने उल्लेख गर्दै मानिसले बनाएका संरचना, लापरवाही, हडबडाहट र संयन्त्रको असफलताले ज्यान जाने बताए । उनले पूर्व तयारीले विपद्लाई रोक्ने नभएर विपद्को क्षतिलाई कम गर्ने जानकारी दिए ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, शाखा मन्त्री सुरेन्द्र गुरुङ, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष डा बुद्धिबहादुर थापा लगायतले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने बताए ।


‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस २०८० मनाइएको हो । विस १९९० साल माघ २ गते नेपालमा महाभूकम्प गएको स्मरणमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया