विपदमा अपांग बढी प्रभावित

पोखरा ।
अपांगता स्वावलम्बन विकास संघ (डिडा) नेपालले अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरेको छ ।
गण्डकी प्रदेश सरकार विपद् व्यवस्थापन समिति, इन्टरनेसनल नेपाल फेलोसीप (आइएनएफ) हरियोखर्क अस्पताल र राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज भट्टराई र राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणको अवधारणाबारे सहजीकरण गरेको डिडा नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच भएको अन्तक्र्रियाको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले विपद्को अवस्थामा अपांगता भएका व्यक्तिको व्यवस्थापनमा ध्यान दिने बताए । उनले सरोकारवालाको राय, सुझाव लिएर अपांगतासम्बन्धी ऐन बनाउने जानकारी दिए ।
उनले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्दासमेत प्रदेश नीति तथा योजना आयोगले छलफल गराउने प्रतिवद्धता गरे । ‘अहिलेसम्म अपांगमैत्री भौतिक संरचना छैनन् । आगामी नयाँ सरकारी भवन अपांगमैत्री बन्ने छन्,’ उनले भने, ‘राष्ट्रिय भवन संहिता जारी भएपछि सबै सरकारी कार्यालय अपांगमैत्री बनाउनु पर्छ ।’
अहिलेसम्म अपांगमैत्री भौतिक संरचना छैनन् । आगामी नयाँ सरकारी भवन अपांगमैत्री बन्ने छन्
सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
उनले व्यक्तिगत संरचना बनाउँदासमेत सचेत गराउने बताए । उनले सुरक्षा निकायसँगको समन्वयमा विपद् व्यवस्थापनको काम गरेको उल्लेख गरे । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेसम्म बनेका नीति कार्यक्रम तथा योजना अपांगमैत्री नभएको उल्लेख गरे ।
अपांगताको सवालमा विश्वव्यापी मान्यता अनुरुप साझा विचार र दृष्टिकोण हुने उल्लेख गर्दै उनले विश्वव्यापी मान्यता अनुरुपको कानुन निर्माणमा ध्यान दिने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भट्टराईले अधिकांश पुराना संरचना अपांगमैत्री नभएको स्वीकार गरे । उनले विपद् जोखिमको पहिचान तथा नक्सांकन गर्न नसकिएको उल्लेख गरे । प्रादेशिक अपांगता नीति तर्जुमा भएको जानकारी दिँदै उनले प्रादेशिक अपांगता ग्राम निर्माण प्रक्रियाअघि बढाएको बताए ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकीका अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिहरु विपद्का बेलामा २ देखि ४ गुणा बढी प्रभावित हुने दाबी गरे । विपद् आइपर्दा अपांगता भएका व्यक्ति सबभन्दा बढी जोखिममा पर्ने विभिन्न अनुसन्धान तथा तथ्यांकले पुष्टि गरेको उल्लेख गर्दै उनले विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिन माग गरे ।
उनले विपद्को कारण धेरै व्यक्ति अपांगता भएको भएको जानकारी दिए । ‘सबैको लागि मानव अधिकार, पहुँचयुक्त दिगो विकास मुल आधार’ भन्ने नाराका साथ भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, आइएनएफका आउटरिच म्यानेजर ताराहाङ तावा, डिडा नेपालका पूर्व अध्यक्ष गिरीधारी सुवेदी, सल्लाहकार विष्णुप्रसाद बरालले अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अवधारणाबारे बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया