६ महिनामा १३८ अनुगमन, ३ उद्योगविरुद्ध मुद्दा

पोखरा ।
गण्डकी प्रदेशमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वैशाखदेखि यता कैफियत गर्ने ३ उद्योग विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले अनुगमनका क्रमममा कैफियत देखेपछि एउटा पानी कम्पनीविरुद्ध जिल्ला अदालत बागलुङमा मुद्दा दर्ता गरेको छ ।
आफ्नो कार्यक्षेत्रभित्र पर्ने पर्वत जिल्लाको कुश्मामा सञ्चालित पञ्चमूल स्प्रिङ वाटर प्रालिविरुद्ध उसले मुद्दा दर्ता गरेको हो । कम्पनीबाट उत्पादित खानेपानी बोतलमा अखाद्य पदार्थ देखिएपछि विभिन्न चरण पार गर्दै जिल्ला अदालत बागलुङमा पुस १८ गते मुद्दा दर्ता गरेको कार्यालय प्रमख सौरभ श्रेष्ठले जानकारी दिए ।
डिभिजन कार्यालय तनहुँले पनि वैशाखदेखि यता एउटा पानी कम्पनी विरुद्ध जिल्ला अदालतमै मुद्दा दर्ता गरको छ । सुरज मिनिरल वाटर कम्पनी विरुद्ध डिभिजन कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
पानी कम्पनीको नमुना संकलन गरेर छानबिन गर्दा कैफियत देखिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । ‘अनुगमनका क्रममा पानीमा कीरा देखियो । गुनासोपछि कार्यालय पुगेर अनुगमन गर्यो । अनुगमनका क्रमम पानीमा किरा भेटिए । नमुना पनि संकलन गर्यौं । यसपछि थप कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हौं,’ उनले भने ।
बजार अनुगमनकै क्रममा कास्कीको पोखरा नुडल्सप्रालि विरुद्ध पनि पोखरा कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । तयारी चाउचाउमा अखाद्य वस्तु रहेको नमुना परीक्षणबाट पुष्टि भएको थियो । लगत्तै कार्यालयले थप प्रमाण जुटाएर पुस ८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
खाद्य पदार्थ, दूध, तेल, पानी उत्पादन गर्ने उद्याेगमा सबैभन्दा बढी अनुमान
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा र मातहतका अन्य दुई कार्यालयले ६ महिनामा १ सय ३८ व्यापार व्यवसाय तथा उद्योगमा अनुगमन गरेका छन् । कार्यालयले दोस्रो तथा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा अनुगमनलाई तिव्रता दिएको हो ।
पोखरा कार्यालयले दोस्रो त्रैमासिकसम्म ३१ वटा ठाउँमा अनुगमन गरेकोमा तेस्रो त्रैमासिक तथा अर्ध वार्षिक ४५ वटा उद्योग, व्यापार व्यवसायको अनुगमन गरेको कार्यालयका सूचना अधिकारी विजन श्रेष्ठले जानकारी दिए ।
डिभिजन कार्यालय तनहुँले दोस्रो त्रैमासिकसम्म ५३ र तेस्रो त्रैमासिकसम्म ८१ वटा ठाउँमा अनुगमन गरेको छ । बागलुङले दोस्रो त्रैमासिकमा ८ वटा र तेस्रो त्रैमासिकसम्म १२ वटा अनुगमन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अनुगमनका क्रममा संवेदनशील खाद्य पदाथ दूध, तेल, पानी उत्पादन गर्ने उद्योग स्थलमा सबै भन्दा बढी अनुगमन गरेको कार्यालय प्रमुख नवराज दाहालले जानकारी दिए । उनले पोखराबाटमात्र यस्ता उद्योगमा ९ पटक, तनहुँबाट २४ पटक र बागलुङबाट ३ पटक अनुगमन गरेको बताए ।
उद्योगहरुलाई खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशनसमेत दिएको उनले सुनाए । ‘अधिकार धेरै छ । तर, स्रोत साधन भएन । अनुगमनमा हिँड्न कार्यालयसँग एउटा पनि गाडी छैन । ११ वटै जिल्ला बाइकमा हिँड्न पनि नसकिने,’ प्रमुख दाहालले भने ।
कार्यालयले होटल रेस्टुरेन्टमा पनि अनुगमन गरेको छ । त्यहाँ पुगेर सचेतना फैलाउने र गुणस्तर नियमनतर्फ सजग गराइए प्रमुख दाहालले बताए । अनुगमनका क्रमम पसल तथा होटल रेस्टुरेन्टहरुलाई स्वच्छता सुधारका लागि परामर्श दिने र उपभोग्य अवधि समाप्त भाएका तथा गुणस्तरहीन खाद्य वस्तु जफतसमेत गराइएको उनको भनाइ छ ।
उनले यस्ता वस्तु नष्ट गर्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएकाले गुणस्तर सुधारमा टेवा पुगेको प्रमुख दाहालले सुनाए । बजारमा शंकास्पद देखिएका खाद्य तथा दाना नमुना संकलन समेत गरेको छ । हालसम्म ३ वटै कार्यालयबाट ५ सय ९ वटा खाद्य तथा दाना का नमुना विश्लेषण गरेको प्रमुख दाहालले बताए । कार्यालयले खाद्य तथा दाना नमुनाहरुको विश्लेषणसमेत गर्दै आएको छ । अनुज्ञापज्ञ जारी भएका र नवीकरण भएका ४ सय ३४ वटा नमुना संकलन गरिएको उनले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खाद्य तथा दाना उद्योग अनुज्ञापत्र जारी र नवीकरणको संकलित १३ सय २३ वटा खाद्य तथा दाना नमुनाहरु विश्लेषण गरिएको छ । जसमध्ये ५१ वटा नमुना प्रतिकुल संख्या भेटिएको हो,’ उनले भने, ‘जुन यसअघि विभाग प्रयोगशाला पठाउने गरेकोमा पुसदेखि पोखरामा रहेको प्रयोगशालाबाटै सेवा दिँदै आइरहेका छौं ।’
यो वर्ष कार्यालयमा आइपुगेका ११ वटा उजुरी तथा गुनासो सम्बोधन भइसकेको उनले जनाकारी दिए । साथै कार्यालयमा नमुनाहरुको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर बापत ११ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको उनले जनाकारी दिए ।
तपाईको प्रतिक्रिया