उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच

पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा माघ ९ देखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टार क्लबबीच हुने भएको छ ।
क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो । दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् । भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपिएफलाई स्थान दिइएको आयोजकले जनाएको छ ।
साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटले सिधैं क्वाटर फाइनल खेल्ने छन् ।
१२ टिमले भाग लिएको प्रतियोगितामा समूह ‘ए’ मा आयोजकसहित भुटान, थ्रि स्टार, मच्छिन्द्र, जावलाखेल युथ र मनाङ मस्र्याङ्दी छन् । फाइनल २० गते हुनेछ ।
आहा राराका लागि विभिन्न संघ, संस्थाले सहयोग गर्ने क्रम जारी छ । प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।
पोखरा महानगर संरक्षक
साढे दुई दशकदेखि निरन्तर सञ्चालित आहा राराको पोखरा महानगरपालिका संरक्षक बनेको छ । २०५७ को क्याराभानदेखि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दा यसको चिनारी सीमापारसम्म फैलिएको छ ।
महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण गरी संरक्षकत्व ग्रहण गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया