१८ निवृत्त प्राध्यापक सम्मानित

समाधान संवाददाता २०८० माघ ७ गते ११:०९

पोखरा ।

Advertisement

शुक्रबार एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् । निवृत्त प्राध्यापक समाज पोखराले संस्थामा आवद्ध ७५ वर्षमाथिका निवृत्त प्राध्यापकलाई शुत्रबार सम्मान गरेको हो ।


सम्मानित हुनेमा जोर्ज जोन, डा एलियामा जोन, प्राडा भूपति ढकाल कमल, प्राडा भवानीप्रसाद पाण्डे, प्राडा विजयराज शर्मा, डा गेहेन्द्रमान उदास, प्रा कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्की छन् ।

Advertisement


सम्मानितमध्येका ज्येष्ठ प्राध्यापक जोर्ज जोनले समाजप्रति आभार व्यक्त गर्दै समयको कालक्रममा सहकार्य र सहयात्रा गरेका तीन पुस्तालाई एकै थलोमा भेट्न पाउनु गौरवको विषय भएको बताए । प्राडा भूपति ढकाल कमलले प्राध्यापकहरूमा अन्तरनिहित सीप, दक्षता र क्षमतालाई राज्यले सही तरिकाले प्रयोग गर्न नसकेको धारणा राखे । उनले प्राध्यापकहरू आफ्नो पदीय मर्यादा बिर्सेर दलीय दलदलमा फस्नु दुःखको कुरा भएको जनाए ।


डा. वासुदेव भण्डारीले प्राध्यापकको निवृत्त जीवनलाई थप क्रियाशील गराउन संस्थाले स्थापनाको छोटो समयमा गरेका गतिविधिबाट आफू निकै प्रभावित भएको सुनाए । गेहेन्द्रेश्वर कोइरालाले समाजले आफ्ना अभिभावकको योगदानको स्मरण गरेर स्तूत्य कार्य गरेको धारणा राखे ।

Advertisement


उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले राज्यलाई पुर्‍याएको योगदानको कदर र विभिन्न कालक्रमका सहयात्रीको पुनर्मिलनका रूपमा संस्थाको नीतिनुसार कार्यक्रम आयोजना गरिएको बताए । कोषाध्यक्ष चन्द्रकान्त रेग्मीले समाजलाई मजबुत बनाउँदै अगाडि बढाउने उद्देश्यले कोष स्थापनाका लागि जोर्ज जोनबाट १ लाख, बालगोपाल अमात्यबाट ५० हजार र पिताम्बर शर्मा नेपालीबाट २५ हजार रुपैयाँ र अन्यबाट संस्था सञ्चालनका लागि ५–१० हजार स्वेच्छिक सहयोग प्राप्त भएको जानकारी दिए ।
कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्राडा ज्ञानबहादुर कार्कीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया