नेपालमा १ लाख २२ हजार भारतीय भूपू गोर्खा सैनिक
पोखरा ।
भारतीय सेनाका गोर्खा ब्रिगेड प्रेसिडेन्ट लेफ्टिनेट जर्नेल अजयकुमार सिंहले गोर्खा सैनिकहरुको भूमिका प्राचीनकालदेखि नै असाधारण साहस, अनुशासन, निष्ठावान सेवाका लागि प्रख्यात रहेको बताएका छन् । भारतीय पेन्सन क्याम्प पोखरामा बिहीबार आयोजित समारोहमा सिंहले भारतीय गोर्खा सैनिकले भारतमा आइपरेको विभिन्न लडाइँमा मात्र नभएर भारत राष्ट्र सामु आइपरेको हरेक विपतमा अहम् भूमिका निभाएको बताए ।
गोर्खा ब्रिगेड प्रेसिडेन्ट सिंहले वीरताका साथ आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफ्नो बलिदान दिने वीर सम्पूर्ण शहीदहरूप्रति भारतीय सेनाको तर्फबाट हार्दिक श्रद्धासुमन अर्पणसमेत गरेका थिए । गण्डकी क्षेत्रमा रहेका भूपू सैनिक र उनीहरूको परिवार सहितको करिब ३ हजार ५ सयभन्दा बढीको उपस्थिति रहेको सो समारोहमा बोल्दै सिंहले नेपाल र भारतबिचको सम्बन्ध वास्तवमा विश्वमा नै एउटा असल मित्रताको उदाहरण रहेको बताए ।
उनले भारतमा हाल २२ हजार गोर्खा सैनिक गोर्खा पल्टनमा सेवा गरिरहेको र नेपालमा १ लाख २२ हजार गोर्खाली भूपू अनि उनीहरुको परीवारले पेन्सन लिइरहेको जानकारी दिँदै बैंकबाट सहज र सरल तरिकाले पेन्सन लिन बैंकहरुसँग बेला बेलामा छलफल निर्देशन दिइएको पनि बताए ।
जर्नेल सिंहले भूपू गोर्खा सैनिकलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरूले पल्टने जागिर पूरा गरी घर आउनु भएको छ, भारत सरकार अनि भारतीय सेनाको पालो तपाईंहरुको हेरविचार गर्ने, अनि तपाईंहरुको सुख–दुखमा साथ दिने हो जसका लागि भारतीय सेना कहिले पनि पछाडि हट्ने छैन, किन कि तपाईंहरुको योगदान अमूल्य छ ।’
सिंहले भने अहिले नेपाल विकासको बाटोमा अगाडि बढदै छ, जुन कुरा धेरै राम्रो कुरा हो, नेपालको विकासमा भूपूहरुले पनि राम्रो भूमिका निर्वाह गरेको सुन्दा र देख्दा धेरै नै खुशी लागेको छ, पल्टनमा सिकेको सिप अनि तपाईंसँग भएको अन्य सिप देश बिकासमा लगाउनुस् ।’ समारोहमा उपस्थित भूपू सैनिक र उनका परिवारका लागि बृहत् निशुल्क स्वास्थ्य जाँच पनि गरिएको जनसम्पर्क अधिकृत भारतभूषण पाण्डेले बताए ।
तपाईको प्रतिक्रिया