अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी ।
भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब ५ सय वर्षपछि पुनःनिर्माण भएको राममन्दिरमा सोमबार मूर्तिको प्राण प्रतिष्ठा भएको छ ।
मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट १ वटा शिला लगिएको थियो । देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले जानकारी दिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ टन तौल भएका, सात फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो ।
‘नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुको तर्कपछि अयोध्याको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ,’ नगरप्रमुख केसीले भने, ‘रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गमस्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रवद्र्धन गर्न लागेका हौँ ।’
शिला उत्खनन भएको ठाउँ धार्मिकस्थलकारुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ
देवशिला उत्खनन् गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताए । उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुंगालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर स्रोतको खोजी थालिएको छ ।
देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो ।
कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्छन् । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ ।
पौलत्स्य र जडभरत ऋषिको तपस्यास्थल एवं कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गमस्थल धार्मिक हिसाबले धेरै महत्व रहेको हिन्दू धर्मगुरु जगद्गुरु हिमालय बाबाले बताए ।
‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गरेको छ,’ उनले भने, ‘शिला उत्खनन भएको ठाउँ धार्मिकस्थलकारुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ ।’
कालीगण्डकीलाई हिन्दू धर्मावम्बीले कृष्णगण्डकीका रुपमा चिन्ने गर्छन् । शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको गत वर्ष शिला लिन आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताएका थिए ।
अयोध्याको राममन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा सोमबार देवशिला उद्गमस्थलमा पूजाआजा र १ लाख २५ हजार बत्ती बालिएको छ । देशशिला अयोध्या पुर्याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
रासस









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया