करबारे पोखरा महानगरलाई कांग्रेसकाे १२ सुझाव

पोखरा ।
नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अस्वाभाविक रुपमा बढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
कास्की कांग्रेस सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यसतर्फ उचित ध्यान नदिएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राजस्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन अनुरोध गरिएको छ ।
ज्ञापनपत्रमा कर घटाउन माग गर्दै महानगरको राजस्व वृद्वि के कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न १२ बुँदे सुझाव पनि दिइएको छ । सुझावहरुमा करको विषयमा सोचाइको परम्परागत घेराभन्दा बाहिर निस्कन, धेरै कर उठाउने नीति होइन, धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गर्न, कर बढाएरमात्रै राजस्वको वृद्धि हुँदैन भन्ने गाम्भीर्यलाई महसुुस गर्न, लगनशीलता र मितव्ययीताको परम्परालाई स्थापित गर्न र पोखराका निम्ति सपना देख्न र सपना देखाउन भनिएको छ ।
त्यस्तै, दक्ष जनशक्तिको व्यवस्थापन गर्न, समृद्धिका लागि सबै तहका सरकारसँग समन्वय गर्न, कम लगानीमा देखिने गरी विकासका काम गर्न, विकासको योजना प्राथमिकताको आधारमा तय गर्न, जनतालाई नवप्रवर्धनात्मक उद्यमशीलता र उत्पादनसँग जोड्न, बेरुजु र बाँकी बक्यौता उठाउने इमान्दार प्रयास गर्न, करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन÷अनुसन्धान गर्न, पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गर्न पनि सुझाव दिइएको छ ।
कास्की कांग्रेसले पोखराका प्रतिष्ठित उद्योग व्यवसायी, स्थानीय वुद्धिजीवीहरु र पार्टीका नेता तथा शुभचिन्तकको राय, सल्लाह र सुझावको आधारमा ज्ञापनपत्र तयार पारेको हो । ‘ज्ञापनपत्रमा समेटिएका विषयहरु कांग्रेसका विषयमात्र छैनन्, पोखरेलीको भावना र आवश्यकताहरु हुन्,’ कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने, ‘जिम्मेवार पार्टी भएका कारण मागमात्र गरेका छैनौं, निकासका लागि सुझाव पनि दिएका छौं ।’
नेपालको राजनीतिलाई समृद्ध बनाउन र आगामी दिनमा आफ्ना जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी बनाएर जनताका पक्षमा काम गर्नका लागि थप ऊर्जा र प्रेरणा प्रदान गर्ने छ भन्ने कुरामा नेपाली काँग्रेस, कास्की विश्वस्त रहेको ज्ञापनपत्रमा भनिएको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया