एउटै आयोजनाबाट ३ हजार धारा

समाधान संवाददाता २०८० माघ ९ गते १३:५१

पोखरा ।
पोखरा महानगरमा सञ्चालनमा आएको निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट करिब दुई हजार घरधुरीमा खानेपानी धारा पुगेका छन् । आयोजनाको कुल लागत ३४ करोड ९१ लाख ७२ हजार दुई सय छ ।

Advertisement


लागत रकमको पाँच प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले व्यहोरेका छन् । आयोजना अन्तर्गत तीन हजार दुई सय धारामा पानी पुर्‍याउने लक्ष्य छ । आयोजनाले पोखरा महानगरपालिकाका वडा नं. १७, २१ र ३३ का विभिन्न बस्तीमा पानी वितरण गरेको छ ।


हाल प्रतिमहिना छ रुपियाँका दर पानीको महसुल लिइने र आयोजनाको ऋण चुक्तापश्चात् उपभोक्तालाई सहुलियत मूल्यमा पानी वितरण गर्ने योजना छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आयोजना सुरुआत गरेका हुन् । खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको जनाउँदै प्रमुख आचार्यले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन महानगरपालिका प्रतिबद्ध भएको बताउन्छन् ।

Advertisement


महानगरले चाडै गरिबीको रेखामुनि रहेकालाई प्रतिपरिवार मासिक दश हजार लिटर पानी निशुल्क वितरण गर्ने योजना बनाएको छ । महानगरले संकलन गरेको तथ्यांक प्रशोधनका क्रममा रहेको र तथ्यांक तयार भएपछि यसबारे निर्णय गर्ने तयारी छ । “हामी गरिबीको रेखामुनि रहेको परिवारलाई मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ,” प्रमुख आचार्य भन्छन् ।


उपभोक्ता समितिका अध्यक्ष केशरप्रसाद निर्दोषीले खानेपानी आयोजनामा ट्रान्समिसन लाइन १० किलोमिटर र वितरण लाइन १८ किलोमिटर विस्तार गरिएको बताए । आयोजनालाई प्रविधिमैत्री बनाउन सक्दा प्रणाली जडान गर्ने कार्य अन्तिम चरणमा छ । यसमा थप एक करोड ५७ लाख ४० हजार खर्च हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया