कास्की कांग्रेसको सम्मेलन
क्रियाशील सदस्यता खारेज गर्न सभापति बरालकाे प्रस्ताव
अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ क्रियाशील सदस्यता वितरण गर्नुपर्छः बराल

पोखरा ।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले हिन्दु धर्मलाई कुनै धर्मसँग होइन समृद्धिसँग जोड्नुपर्ने लगायत प्रस्ताव गरेका छन् । सभापति बरालले मंगलबार सुरु जिल्ला सम्मेलनमा एकपटकका लागि कांग्रेसका सबै क्रियाशील सदस्यता खारेजी, समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थालाई खारेजी गर्न संविधान संशोधन गर्नुपर्ने र संघीयता स्थापनाको औचित्यमाथि छलपल गर्नुपर्ने लगायत विभिन्न प्रस्तावसहित राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
सम्मेलनमा सभापति बरालले हिन्दु धर्मलाई सीमित जात र मानिस विशेषको धर्म बनाउन नहुने उल्लेख गरेका छन् । ‘हिन्दु राज्यलाई धर्मनिरपेक्ष बनाएर यसलाई जात, धर्म वा व्यक्ति विशेषको हारजितको विषय बनायौं । तर, देश समाज र समग्र मानव सभ्यतालाई नै जिताउन हिन्दु राज्यको मूल्य मान्यता र संस्था अन्तर्राष्ट्रियकरण गरेर उच्चतम हितको निम्ति काम गर्नुपर्छ । त्यो विचार बनाउनुपर्छ,’ बरालले पेस गरेको प्रतिवेदनमा छ ।
उनले पार्टीको क्रियाशील सदस्यता नवीकरण नगर्ने बरु खारेज गर्ने प्रस्ताव गरेका हुन् । ‘क्रियाशील सदस्यता कांग्रेसका लागि होइन, आफ्ना लागि बनाएका छौं । यस कार्यमा नेताहरू मात्रै दोषी हुनुहुन्न हामीहरू पनि दोषी छौं । हामीहरूले अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ क्रियाशील सदस्यता वितरण गर्नुपर्छ र नयाँ क्रियाशील सदस्यहरूबाट विभिन्न तहका समितिहरूको निर्वाचन गर्नुपर्छ,’ उनले भने ।
यस्तै उनले शब्द विनाको सन्देश दिने राजनीतिक संस्थाको विकास गर्नुपर्ने औंल्याएका छन् । त्यसका लागि कांग्रेस अग्रसर हुनुपर्ने बरालको माग छ । ‘मञ्चमा बसेर सम्भव भएसम्मको ठूलो माला पनि लगायौं, उद्घाटन ग¥यौं । रिबन काट्यौं । धेरैभन्दा धेरै गुणस्तरीय समय यसैमा बितायौं । यी सबै कर्महरुको बीचमा देश र नागरिक कहाँनेर छन् ?’ सभापति बरालको नेतृत्वलाई प्रतिवेदनमार्फत प्रश्न गरेका छन् । बरालले एउटै पदमा धेरै पदाधिकारी रहने व्यवस्था पनि खारेज गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् । उनले कांग्रेसलाई अनुशासित र मर्यादित संगठन निर्माण गर्नुपर्ने बताएका छन् ।
अनुशासनलाई उच्च प्राथामिकतामा राख्न नसके व्यवस्थित रुपमा पार्टी सञ्चालन गर्न नसक्ने उनको स्वीकारोक्ति छ । ‘अनुशासनको राम्रो व्यवस्था गर्न नसक्दा नेपाली कांग्रेसले धेरैपटक राजनीतिक दुर्घटनाहरु व्यहोर्नुपरेको छ,’ बरालले प्रतिवेदनमा लेखेका छन् । बरालले पार्टीले अब भ्रष्टाचारविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको भयानक ठूलो अवरोध भनेको भ्रष्टाचार भएको उनको भनाइ छ । ‘राज्यको सबै संरचनामा व्यापक भ्रष्टाचार छ । यसमा कांग्रेस गम्भीर र संवेदनशील हुनुपर्ने आवश्यकता छ । समाजमा भ्रष्टाचार हुन दिनु हुँदैन र भ्रष्टाचारीहरुकालाई कारबाही गरेर नागरिकलाई सुशासनको प्रत्याभूति दिलाइनुपर्छ,’ बरालले भने ।
समानुपाटिक निर्वाचन प्रणालीको व्यवस्थालाई खारेज गर्न संविधान संशोधन गर्नुपर्ने बरालको माग छ । यसका लागि कांग्रेसले नै संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने बरालले प्रतिवेदनमा लेखेका छन् । ‘नेपालको राजनीतिक स्थायित्वमा सहयोग हुन नसकेको र भविष्यमा पनि यो व्यवस्थाले थप समस्या ल्याउन सकने देखिएकाले यो निर्वाचन प्रणालीको व्यवस्थालाई खारेज गर्नुपर्छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘यो खारेजी गर्नुपर्छ भनेर व्यापक जनचासो देखिन्छ । यसमा नेपाली कांग्रेस गम्भीर हुनै पर्छ । खारेजीका लागि चाहिने संवैधानिक प्रक्रिया पूरा गर्नेतर्फ नेपाली कांग्रेस सक्रिय हुनुपर्छ ।’ बरालले प्रस्तावमा परम्परागत सभा अब अनलाइन सभा समारोहमा रुपान्तरण गर्नुपर्ने माग अघि सार्ने बताएका हुन् ।
‘निर्वाचन अगावै गठबन्धन नगरौं’
चुनावमा गठबन्ध भएकाले पार्टीमा विग्रह देखिएको भन्दै यति बेला कांग्रेसमा नेतृत्वको चर्को विरोध हुँदै आएको छ । अझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघिको गठबन्धन फलदायक नभएको बताउँदै आएका छन् । महामन्त्रीहरुले पनि गठबन्धन गर्न नहुने पक्षमा राय दिँदै आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा यस विषयमा खुलेर बोलेका थिएनन् । एक्कासि कास्की कांग्रेसको जिल्ला सम्मेलनमा पोखरा आएर देउवाले संविधान अनुरुप कसैले बहुमत ल्याउन नसक्नेस्थिति भएकाले गठबन्धन गरिएको बताएका छन् । तर, पनि कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले देउवा नै प्रमुख अतिथि भएको कार्यक्रममा निर्वाचन अगावैको गठबन्धन गर्न नहुने भन्दै राजनीतिक प्रस्ताव नै पेस गरेका छन् ।
उनले एउटा लोकतान्त्रिक पार्टीले काहिलेकाहीँ अन्य राजनीतिक पार्टीहरुसँग गठबन्धन गर्ने स्थिति गर्न नहुने बताएका हुन् । गठबन्धन निर्वाचन अगाडि गर्ने मानसिकतामा कुनै पनि राजनीतिक पार्टी पुग्न नहुने उनको भनाइ छ । ‘राजनीतिले केबल निर्वाचन जित्ने प्रयोजनका लागि मात्र हो भनेर बुझियो भने त्यो धेरै गलत हुन्छ । राजनीति जहिले पनि समाजमा मूल्य मान्यता र राजनीतिक संस्कारको स्थापना गर्ने कुरालाई पहिलो प्रथामिकता राख्नुपर्छ,’ उनले प्रतिवेदनमा भनेका छन् ।
तपाईको प्रतिक्रिया