सहारालाई हराउँदै थ्रि स्टार क्वाटर फाइनलमा

समाधान संवाददाता २०८० माघ १० गते ११:०३

पोखरा ।
थ्रि स्टार क्लब आयोजक आयोजक सहारा क्लबलाई हराउँदै आहा रारा पोखरा गोल्ड कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारले सहारा क्लबलाई २–१ ले हराएको हो ।

Advertisement


थ्रिस्टारका लागि योगेश गुरुङ र एञ्जल महर्जनले समान एक गोल गरे । खेलको पाँचौं मिनेटमै थ्रि स्टारका योगेश गुरुङले प्रतियोगिताका लागि पहिलो गोल गरे । थ्रि स्टारका कप्तानसमेत उनले डिबक्स गोलरक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्ड बललाई गोलमा परिणत गरे ।


सहाराका आशीष गुरुङले खेलको २३ औं मिनेटमा खेललाई बराबरीमा ल्याए । लक्ष्मण रुचालको फ्रिकिकलाई उनले हेडमार्फत् गोलमा परिणत गरे । पहिलो हाफमा कडा प्रतिस्पर्धा देखिए पनि दोस्रो हाफमा सहारा कमजोर साबित भयो । ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले फेरि अर्काे गोल थपे ।

Advertisement


खेलमा पहिलो गोलकर्ता थ्रि स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । दोस्रो खेल बुधबार राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ । आहा राराको उद्घाटन समारोहमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलान सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मानबाट सम्मानित बने । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उनलाई सम्मान गरेका हुन् ।


घलानलाई ५० हजार पाँच रुपैयाँ र दोसल्लासहित सममान गरिएको हो । सहाराले यसअघि भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङलाई यो सम्मान प्रदान गरिसकेको छ । प्रतियोगितामा आयोजकसहित १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख एक हजार र उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

Advertisement


प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आहा राराले पोखराको फुटबल विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका जनाए । उनले यही योगदानको मूल्यांकन गरी महानगरले यसको संरक्षकत्व ग्रहण गरेको सुनाए । प्रतियोगितामा विदेशी क्लबहरु ल्याउन आगामी दिनमा पोखरा महानगरले पहल गर्ने उनको आश्वासन छ ।


सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्सका अध्यक्ष प्रकाश केसी, क्लबका उपाध्यक्ष पूर्ण गुरुङले पनि बोलेका थिए ।


प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रीस्टार क्लब, पारो फुटबल क्लब भुटान, नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब सहभागी छन् । गएको संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनिज युथ स्पोर्टस् क्लब मिनोसोटा अमेरिका उपविजेता थियो ।

तपाईको प्रतिक्रिया