युवा संघ गण्डकीको अधिवेशन फागुनको पहिलो साता

समाधान संवाददाता २०८० माघ १० गते १५:४५

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको मिति तय गरिएको छ । प्रदेश कमिटीको पूर्ण बैठकले वृहत युवा भेला सहित लमजुङको बेसीशहरमा आगामी फागुन ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको संयोजक विकास अधिकारीले जानकारी दिए ।

Advertisement


अधिवेशनमा विधानले व्यवस्था गरे अनुसारको २८५ प्रतिनिधिले भाग लिने छन् । अधिवेशनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । राजनीतिक, सांगठनिक र आर्थिक लेखनका लागि संयोजक अधिकारी, साजन सुवेदी र सन्तोष शर्मालाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि व्यवस्थापनको निम्ति संयोजक अधिकारी, सुदीप आचार्य, सन्तोष शर्मा, प्रचार प्रसारका लागि संयोजक अधिकारी, साजन सुवेदी र रामराज अधिकारीलाई जिम्मेवारी दिइएको छ ।


संयोजक अधिकारीले खाना तथा आवास व्यवस्थापन, स्वयं सेवक तथा मञ्च व्यवस्थापनको जिम्मा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङ दिइएको बताए । ‘अधिवेशनको लागि २९ माघ २०८०सम्ममा प्रतिनिधि छनोट गर्न मातहतको जिल्ला कमिटीलाई परिपत्र गरिएको छ,’उनले भने, ‘अधिवेशन नभएका जिल्लाबाट प्रतिनिधि सामेल गर्न कमिटी असमर्थ रहने छ ।’ उनले अधिवेशनको लागि जिल्ला कमिटीलाई आर्थिक दायित्व समेत तोकिएको बताए ।


बैठकले नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको कार्यालय व्यवस्थापनको लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने केपी ओली कपलाई सफल पार्न आर्थिक,भौतिक तथा नैतिक सहयोग गर्ने निर्णय गरेको संयोजक अधिकारीले जनाए ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, युवा संघ नेपाल गण्डकी प्रदेशका इञ्चार्ज अर्जुन पौडेल, सहइञ्चार्जहरु सुवास सापकोटा, मदन गिरी, सचिवालय सदस्य सुदिप आचार्यले मुलुकको समसामयिक अवस्था र युवाको भूमिकाको बारेमा बोलेका थिए ।

Advertisement


माघ १२ मा युवा संघ कास्की अधिवेशन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको ११ जिल्ला अधिवेशन १२ माघ २०८०मा हुने भएको छ । संघको सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए । सबै तयारी पुरा भएर १८ कात्तिक २०८०मा तय भएको अधिवेशन जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको कारण स्थगित भएको भएको थियो ।


‘सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नाराका साथ अधिवेशन हुन लागेको हो । युवा संघ नेपाल कास्कीका उपाध्यक्ष शंकर पौडेलले अधिवेशनमा २ सय ३० प्रतिनिधि, पर्यवेक्षक अतिथि सहित ३ सय जनाले भाग लिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया