आहा रारा गोल्ड कप: आर्मी क्वाटरफाइनलमा

पोखरा ।
राइजिङ स्टार क्लब नवलपरासीलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । राइजिङलाई रोक्न आर्मीका कप्तान भरत खवासले खेलको २७ औँ मिनेटमा गरेको गोल नै प्रतियोगितामा निर्णायक बन्यो ।
कमल थापाको क्रसबाट आएको बललाई पेनाल्टी बक्स हुँदै खवासले गरेको हेड गोलमा परिणत भएको थियो । खेलमा एकमात्र गोल गर्ने खबास प्लेयर अफ दि म्याचसमेत बने ।
खेलमा दुवै पक्षले राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् । खेलको १३ औँ मिनेटमा आर्मीका भरत चौधरीको पासमा कप्तान भरत खवासले पेनाल्टी बक्सबाट हेड गरेका थिए । तर बल पोस्टभन्दा माथि गयो । खेलको ४० औँ मिनेटमा राइजिङ स्टारका फागुराम थारुले दायाँ साइडबाट बक्समा राम्रो क्रस दिए पनि आर्मीका खेलाडीले हेडमार्फत बल क्लियर गरिदिए ।
आर्मीले ५० औँ मिनेटमा पाएको कर्नर किकलाई दिनेश हेन्जनले गोलमा परिणत गर्न चुके । राइजिङले ५४ औँ मिनेटमा खेलाडी परिवर्तन गरी कप्तानी गोलरक्षक विशाल सुनारलाई दियो । राइजिङले ५८ औँ मिनेटमा पाएको फ्रिकिक आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गर्दै असफल पारिदिए ।
यसैगरी, ६२ औँ मिनेटमा आर्मीका भरत खवासको क्रसमा रासबहादुर मगरले पेनाल्टी बक्सबाट हेड गरे । मगरको प्रहारलाई राइजिङका किपर विशाल सुनारले सहज बचाउ गरिदिए । ७५ औँ मिनेटमा खवासले गरेको प्रहार विपक्षी गोल पोस्टमाथि बाट बहिरियो ।
राइजिङका फागुराम थारुले टिममेटले दिएको पास कन्ट्रोल गर्दै पेनाल्टी बक्ससम्म पुगे पनि उनले प्रहार गर्नुअघि नै आर्मीका गोलरक्षक समित श्रेष्ठले बचाए । राइजिङका अमन लामाले दिएको पासमा फागुराम थारुले ८४ औं मिनेटमा गरेको शक्तिशाली प्रहार पोस्टमाथि गयो ।
राइजिङले ८८ औँ मिनेटमा पाएको मौका पनि उपयोग गर्न सकेन । राइजिङका फागुराम थारुले हानेको फ्रिकिक आर्मीका गोलरक्षक समित श्रेष्ठले निष्फल पारिदिए ।
आर्मी अहिलेसम्म चार पटक आहा राराको फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । राइजिङ पहिलो पटक आहा रारामा आएको हो भने आर्मीको यो १५ औं सहभागिता हो । अघिल्लो संस्करणमा सङ्कटा क्लबसँग पराजित भई आर्मी क्वाटर फाइनलबाटै बाहिरिएको थियो । यसपालि पनि आर्मीले माघ १४ गते सङ्कटाकै सामना गर्ने छ ।
आहा राराको बिहीबारको खेल मच्छिन्द्र र जावलाखेलबीच हुनेछ । यसअघि मंगलबार भएको खेलमा थ्रि स्टार क्लब आयोजक आयोजक सहारा क्लबलाई हराउँदै क्वाटर फाइनलमा पुगिसकेको छ । प्रतियोगितामा आयोजकसहित १२ टिमले भाग लिएका छन् ।
तपाईको प्रतिक्रिया