आहा रारा गोल्ड कप: मछिन्द्रलाई हराउँदै जावलाखेल क्वाटरफाइनलमा

समाधान संवाददाता २०८० माघ १२ गते १०:३५

पोखरा ।
आहा रारा पोखरा गोल्ड कपको तेस्रो प्रिक्वाटर फाइनलमा मछिन्द्र एफसीलाई हराउँदै जावलाखेल युथ क्लब क्वाटरफाइनल पुगेको छ । खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गरेको टोल नै प्रतियोगिताका लागि निर्णायक बन्यो ।

Advertisement


आहा राराको २३ औं संस्करणमा बिहीबार भएको खेलमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठलाई बिट गर्दै थपलियाले गोल गर्नुभएको हो । खेलमा थपलिया प्लेयर अफ दि म्याचसमेत बने । अब जावलाखेलले क्वाटरफाइनलमा सर्वाधिक छ पटकको आहा रारा विजेता मनाङ मस्र्याङ्दीसँग खेल्नेछ ।


खेलको २२ औं मिनेटमा जावलाखेलका सुनील खड्काले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार गोलपोस्टमाथि बाट बाहिरिएको थियो । खड्काले नै ३१ औं मिनेटमा पेनाल्टी बक्सको लाइनबाट हानेको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले जोगाए ।

Advertisement


पहिलो हाफमा जावलाखेलको गोलपछि दबाबमा परेको मछिन्द्रले दोस्रो हाफमा आक्रामक खेलेको थियो । ४१ मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले बायाँ साइडबाट गरेको प्रहार जावलाखेलका खेलाडीले क्लियर गरेका थिए । पहिलो हाफको अन्तिममा मछिन्द्रलाई गोल फर्काउने अवसर मिले पनि तर पेनाल्टी बक्समा प्राप्त बललाई खेलाडीहरुले पोस्टको दिशा दिन सकेनन् ।


४८ औं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले हानेको फ्रिकिक क्रसबारमा ठोक्किएर फर्कियो भने मछिन्द्रका मनिष डाँगीले बाँया साइडबाट गरेको प्रहार जावलाखेलका गोल रक्षक अनिष देउलाले उत्कृष्ट बचाउ गरे। त्यसको १० मिनेटपछि पाएको फ्रिकिक पनि मछिन्द्रले उपयोग गर्न सकेन । ६९ औँ मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले दिएको लङ क्रसलाई विमल घर्तीले हेडर गर्र्दै अघि बढाए पनि अफसाइडको संकेत मिल्यो ।

Advertisement


जावलाखेलले पनि केही गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । ७४ औँ मिनेटमा कप्तान विशाल तामाङले पेनाल्टी बक्सभित्र रहेका सुनील खड्कालाई दिएको पास खड्काअगाडि नै मछिन्द्रका गोलरक्षकले प्रभुत्वमा पुग्यो । खेलको ७५ औं मिनेटमा मैदानमा आएका जावलाखेलका सेवान्त थापाले पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहार गरे पनि बल पोस्ट नजिकैबाट बाहिरियो ।


उपाधि कब्जा गर्ने लक्ष्यसहित आएको मछिन्द्र पहिलो खेलमै जावलाखेलसँग पराजित बनेर बाहिरिएको छ । जावलाखेल २०६८ मा पहिलो फाइनल पुगे पनि मनाङ मस्र्याङ्दीसँग पराजित भएको थियो । गत संस्करणमा मछिन्द्र चर्च ब्वाइजसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो । शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र चर्च ब्वाइज क्लबका बिच हुनेछ ।

तपाईको प्रतिक्रिया