मानव अधिकारकर्मीको एउटै फोरम हुनुपर्छः अधिकारी

पोखरा ।
मानव अधिकारकर्मीको फोरम एउटै हुनुपर्ने नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गण्डकी प्रदेशको सम्मेलनमा उनले मानव अधिकारकर्मी सबैको एउटै स्वर हुनुपर्ने जनाएका हुन् ।
राइट फर चिल्डेन, गोनेसा, चिल्डेन नेपाल, इन्सेक गण्डकी प्रदेश लगायतका संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा मानव अधिकारको अवस्थाबारे जानकारी दिइएको थियो । एमाले नेता अधिकारीले सबै अधिकारकर्मीलाई मिलेर काम गर्न पनि आग्रह गरे । ‘सबैले अधिकारकर्मीको उद्देश्य मानवअधिकार स्थापना गर्नु हो । त्यहीँ भएर अब ५०/६० वटा फोरम बनाउन आवश्यक छैन भन्ने म ठान्छु,’ अधिकारीले भने, ‘सबैको एउटै फोरम बनाएर अघि बढ्नुपर्छ ।’
सरकारले टिआरसी विधेयक पीडितलाई झन पीडा थप्ने गरी बनाउन लागेको दाबी गर्र्दै उनले अधिकारकर्मीको त्यसतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । मानव अधिकार आयोगका प्रदेश अधिकृत टंक खनालले १९१० मा बनेको मुलुकी ऐनमा उल्लिखित मौलिक अधिकार पनि अझै नागरिकले प्राप्त नगरेको सुनाए ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले मानवअधिकार रक्षकहरुको अधिकार र चुनौतिबारे प्रस्तुतिकरण गरे । उनले पछिल्लो समय अधिकारकर्मीमाथि चुनौति थपिँदै गएकोले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता सुसंस्कृत, समुन्नत समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित भएको सम्मेलनमा गण्डकीका ११ वटै जिल्लाका मानवअधिकारकर्मी सहभागी थिए । कार्यक्रममा एलायन्सकी उपाध्यक्ष अनिता बरालले एलायन्सले जिल्ला समिति बनाउँदै पालिका समिति विस्तार गरिरहेको बताइन् ।
अपांग महासंघ गण्डकी प्रमुख खोमराज शर्माले अपांगहरु अझै पनि आधारभूत मानव अधिकारबाट बञ्चित भएको दुखेसो पोखे । मानवअधिकार एलायन्सका सचिव रामचन्द्र पौडेलले नेपालमा अझै पनि सहज रुपमा शिक्षा, स्वास्थ्य नपुगेको जनाए ।
एलायन्सका महासचिव विधुर सुवेदीले नेपालमा खाद्य संकट हुने सम्भावना बढिरहेकाले सबैलाई त्यसतर्फ सचेत रहन आग्रह गरे । एलायन्स गण्डकी अध्यक्ष शिवराज शर्मा सुवेदीले मानव अधिकारको पक्षमा सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया