सम्पादकीयः जलवायु परिवर्तन र हिमालहरु

विश्व तापमान वृद्धिमा नेपालको योगदानको हिस्सा नगन्य छ । तर, त्यसको जोखिम भने सबैभन्दा धेरै हुने देशमा नेपाल छ । जलवायु परिवर्तनको असर नेपालका हिमालहरुमा परिरहेको छ । त्यसको परिणाम यहाँका हिमालको हिउँ पग्लिरहेको छ । हिमालहरु हिउँ बिनाका काला पत्थर हुँदैछन् । चाहे त्यो पोखराबाट देखिने माछापुच्छ्रे होस्, या अन्नपूर्ण वा धवलागिरी अथवा सगरमाथा नै किन नहोस्, सबैतिर जलवायु परिवर्तनको असर देखा परिसकेको छ ।
पानी पर्नुपर्ने मौसममा नपर्ने, पर्दा कि अत्यधिक पर्ने कि पर्दै नपर्ने हुनु नै जलवायु परिवर्तनका असरहरु हुन् । त्यसो हुँदा कहिले खडेरीको विपद आउँछ त कहिले बाढी पहिरोको । तापक्रम वृद्धि सँगै पानीका मूलहरु पनि सुकेका छन् । त्यसको प्रत्यक्ष मारमा गृहिणी महिलामा परेको छ । पानीको जोहो त आखिर महिलाहरुले नै गर्न बाध्य छन् । घरका कामधन्दा पूरै एउटै पानीको जोहो गर्दा गर्दै प्रभावित हुन्छ । खेतीपातीमा पनि पानीको अभावले असर गर्छ । त्यसमाथि खेतीपातीको उत्पादनमा पनि जलवायु परिवर्तनले असर गरिहेको छ । हिजो जे फल्थ्यो, जस्तो फल्थ्यो, त्यो फल्न छाडेको छ । पानी नै त आखिर प्राणी र वनस्पतिहरुको जीवन हो ।
पानीको मूल स्रोत भनेको हिमाल हुन् । तिनै हिमालबाट निसृत हुने खोलानालाले हाम्रा पहाडदेखि तराईसम्मलाई हराभरा बनाएका हुन् । पृथ्वीको तापक्रम सन्तुलनदेखि पानीको स्रोतदेखि जैविक विविधताका धरोहर हुन् हिमालहरु । त्यसैले हिमालै नरहने प्राणीहरुको अस्तित्व संकटमा पर्छ नै । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा यो जोखिमको मुद्दा उठाउँदा उठाउँदै पनि शक्ति र विकसित राष्ट्रहरुले टेरपुच्छर लगाएका छैनन् ।
जलवायु परिवर्तनको क्षति र नोक्सानीको भर्पाइमा उनीहरुको योगदान बचनमा मात्रै सीमित छ । खासमा नेपालले जेजस्तो सहयोग पाउनुपर्ने हो र उनीहरुले योगदान गर्नुपर्ने हो त्यो हुन सकेको छैन । त्यस कारण जलवायु परिवर्तनको मुद्दा अझै मुखरित गर्नुपर्ने आवश्यकता छ । हामीले हाम्रा हिमाल जोगाउने भनेको विश्वकै सम्पदाको संरक्षण पनि हो भन्ने विश्वलाई बुझाउन जरुरी छ ।
तपाईको प्रतिक्रिया