उटपट्याङदेखि अपराधसम्म जनप्रतिनिधि

समाधान संवाददाता २०८० माघ १७ गते १३:५५

पोखरा ।
पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार बाँदर नियन्त्रणका लागि भन्दै वडावासीलाई रुख काट्न सार्वजनिक सूचना जारी गरे । सो वडाको पुरुन्चौर क्षेत्रमा बाँदरको आतंक छ । वडाध्यक्ष पाण्डे स्थानीय समस्या भएकाले स्थानीय तवरमै सुल्झाउन निजी जग्गाका रुख काट्न भनिएको प्रष्टीकरण दिए । तर उनको सूचनाको यति चर्काे आलोचना भयो कि एकै दिनमै अर्काे सूचना जारी गरेर रुख काट्ने अभियान रद्द गरे ।

Advertisement


महानगरका केही जनप्रतिनिधि ठगी र भ्रष्टाचार प्रकरणमा समेत मुछिएका छन् । एकपछि अर्काे गर्दै जनप्रतिनिधिहरु उटपट्याङ, अराजक काम, ठगीमा संलग्न भएका घटना सार्वजनिक भएपछि नगरबासी भने चिन्तित छन् । वडाका विकास, निर्माणदेखि योजना कार्यान्वयनमा समेत जनप्रतिनिधिले राजनीतिक स्वार्थ हेर्ने गरेको स्थानीयको गुनासो छ ।


पोखरा–९ की वडा सदस्य भावना श्रेष्ठले गएको मंसिर २३ गते न्यायिक समिति सदस्यबाट राजीनामा दिए । नेपाली कांग्रेसबाट सदस्य निर्वाचित उनले जग्गा विवाद मिलाइदिने भन्दै २ लाख रुपैयाँ चेकमार्फत लिएको सार्वजनिक भएको थियो ।

Advertisement


पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना पनि विवादमा ताएिका छन् । तिमिल्सिनाले तीन दिनभित्र उपस्थित हुन माघ ११ गते वडाबासी अश्विन भण्डारीलाई उपस्थित हुन पत्राचार गरेका थिए । वडाको ग्यारजातिमा भएको दुर्घटनापछि वडाको सडकको अवस्थामाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि भण्डारीलाई वडाले पत्र काटेको हो ।

  • वडा नम्बर २४ का वडाध्यक्ष जातीय विभेद मुद्दामा अदालतबाट दोषी ठहर
  • वडा नम्बर ६ का वडा सदस्य ठगीमा जेल चलान
  • वडा नम्बर २१ का अध्यक्ष सहकारी ठगी मुद्दामा फरार
  • वडा नम्बर १९ का अध्यक्षको रुख काट्ने उट्पट्याङ अभियान
  • वडा नम्बर १८ का अध्यक्षले प्रश्न गर्ने नागरिकलाई पत्र काटे
  • वडा नम्बर ९ की सदस्यले मुद्दा मिलाइदिन्छु भनेर घूस खाइन्


वडा नम्बर ६ का सदस्य दीपेन्द्र पहारी भने पुर्पक्षका लागि थुनामा परे । पहारीमाथि फेवताल किनारमा फोटो खिच्नेहरुसँग अनुमति दिने नाममा रकम उठाएर ठगी गरेको अभियोग थियो ।

Advertisement


पोखरा २४ का अध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदमा अदालतबाट दोषी ठहर भएका छन् । आफ्नै वडा सदस्य मैयाँ नेपालीमाथि सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै उजुरी परेपछि उनी २०७९ पुस २६ गते पक्राउ परेका थिए । १५ दिन हरासतमा बसेपछि उनी एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।


यही मुद्दा अधिकारीलाई जिल्ला अदालत कास्कीले गएको मंसिर ७ गते जातीय दुव्र्यवहार र तथा छुवाछुत कसूरमा दोषी ठहर गरेको छ । अधिकारीलाई चार महिना कैद र ७५ हजार जरिवाना हुने फैसला भएको छ । पुनरावेदनको प्रावधानले उनी अझै पक्राउ परेका छैनन् । कार्यभार सम्हालिरहेकै छन् ।


पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी भने सहकारी ठगीमा संलग्न भएको पुष्टिपछि फरार छन् । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको बचतकर्ताको रकम ठगीमा संलग्न भएको पाइएपछि सुवेदीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मंसिर १७ गते पक्राउ पुर्जी जारी भएपछि उनी वडा सदस्य विमला केसीलाई कार्यवाहक दिएर सम्पर्कमा छैनन् । उनी यसअघि नक्कली कागज बनाएर नागरिकता सिफारिस गरिएको घटना पनि मुछिएका थिए ।


अहिले पोखरा महानगरले करको दर घटाउन लागेको छ । आर्थिक वर्षको मध्यावधिपछि कर घटाउन वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय कार्यदल बनेको छ । पोखरा महानगरको नगरसभामा एमालेको बाहुल्य छ भने कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । कर विवादका कारण महानगरको नगरसभासमेत स्थगित छ ।


नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य भने जनप्रतिनिधिहरुले आफू को हुँ भन्ने नै चिन्न नसकेको टिप्पणी गर्छन् । ‘अरुभन्दा जनप्रतिनिधिमा थप दायित्व हुन्छ । पोखरा जनप्रतिनिधिहरु त्यो दायित्व बिर्सेर स्वार्थमा लागेको देखियो, धेरै जनप्रतिनिधि नै पदको उपयोग गरी आफ्नो व्यापार, व्यवसायमा फाइदा लिन केन्द्रित भएको देखिन्छ,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया