भएन हिउँदे वर्षा, बालीनालीलाई असर

काठमाडौं ।
गत असोज २१ गते जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा तीन महिनाको मौसम आकलन गरिएको थियो जसमा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख थियो । तर वास्तविकतामा त्यस्तो भएको छैन ।
यो वर्षको हिउँदको केही साताहरूमात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने देखिएको छ । ‘हामीले वास्तवमा जनरल सर्कुलेसन मोडल भनिने जीसीएममा आधारित भएर हाम्रो क्षेत्रका निम्ति हुने गरी मौसमी आकलन गरेका हुन्छौँ । त्यसकै आधारमा हामीले यसपालि सरदरभन्दा धेरै पानी पर्न सक्छ भनेका थियौँ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईँले भने ।
‘अझै समय बाँकी छ’
हुन त हिउँद भनेको नेपालमा एकदमै कम पानी पर्ने समय हो । जून महिनादेखि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । उक्त अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ । त्योबाहेक प्रि मनसुन भनिने बर्खाअघि र पोस्ट मनसुन भनिने बर्खापछिको समयमा पनि पानी पर्छ । हिउँदमा चाहिँ कुल वार्षिक परिमाणको ३–४ प्रतिशतमात्र पानी पर्ने गरेको बताइन्छ ।
उच्च भेग तथा केही स्थानमा पानी पर्न सक्ने भए पनि यकिन भन्न सकिने अवस्था छैन
‘त्यसैले अझै पनि हिउँदका समय बाँकी रहेकाले एक दुई झर राम्ररी पानी पर्ने हो भने सरदर परिमाण भेट्न सक्छ,’ हुमागाईँले भने । तर हाल विभागसँग महिनैपिच्छेको बर्खा प्रक्षेपण गर्न सक्ने क्षमता नभएकोले आगामी साताहरूमा वर्षा होला कि नहोला या कति होला भनेर यकिन भन्न नसकिने उनले बताए ।
बालीनालीमा असर पर्ने चिन्ता
हिउँदमा पर्याप्त पानी नपर्दा बालीनालीको उत्पादनमा पनि असर पर्ने चिन्ता अधिकारीहरूले गरेका छन् । ‘यो समयमा खासमा गहुँ, आलु अनि अन्य तरकारी उत्पादन हुन्छ । अलि पछि मकैको समय आउँछ । यतिखेर पानी नपर्दा गहुँमा धेरै असर पर्न सक्छ,’ वरिष्ठ कृषि अर्थविद् डा महादेवप्रसाद पौडेलले बताए ।
कृषिको कुल गार्हस्थ उत्पादनमा गहुँको योगदान पाँचौँ स्थानमा करिब ५.६ प्रतिशत अनि तरकारीको दोस्रो स्थानमा करिब १३.४ प्रतिशत रहेको छ । मकै र आलु क्रमशः तेस्रो र चौथो स्थानमा छन् । उत्पादनको हिसाबमा गहुँको वार्षिक उत्पादन २०–२२ लाख टन हुने पौडेल बताउँछन् । सिँचाइको सुविधा केवल एक चौथाइ क्षेत्रमा मात्र रहेको हुँदा समयमा पानी नपर्दा उत्पादन खस्कने चिन्ता उनले सुनाए ।
पानी पर्ने उपयुक्त समय घर्किसकेपछि परेको पानी त्यति उपयोगी नहुने पनि उनले बताए । ‘सामान्यतया हामी गहुँ मंसिरको १५–२० सम्म लगाउँछौँ । त्यसको २३ दिनभित्र क्राउन रुट इनिसिएसन भनिने चरणमा सिँचाइको एकदमै धेरै आवश्यकता र महत्व हुन्छ । त्यो भनेको जरा अनि गाँजहरू फस्टाउने बेला हो । त्यतिखेर पानी नपरेर पुग्ने क्षतिलाई पछि परेको पानीले भरथेग गर्न सक्दैन,’ उनले भने ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया