दृष्टिविहीन र ह्विलचियर दौड माघ २७ गते

पोखरा ।
१८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत दृष्टिविहीन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ती दुबै इभेन्ट माघ २७ गते गर्न सुझाब दिएसँगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझावलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् ।
१८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ रुट तय भएसँगै अपांग तर्फको दौडलाई एक साताअगावै सम्पन्न गर्ने गरी उपसमितिले आयोजकलाई सुझाब दिएको उपसमितिका संयोजक अमृत बरालले बताए ।
फागुन ५ गते हुने म्याराथनमा अत्यधिक भिड बढ्नेसँगै अपांगतर्फको दौड समेत सञ्चालन गर्न समस्या हुने भएकोले खेलकुदको अन्तर्राष्ट्रिय मान्यता अनुरुप एक साताअगावै दौड सम्पन्न गर्ने तयारी आयोजकले गरेको मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
उनले भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता अनुरुपसमेत हो । हामीले समाजका हरेक वर्गलाई म्याराथनमा जोड्ने उद्देश्य अनुरुप यो दौड समावेश गरेका हौं । उहाँहरुमा आफ्नै उत्साह हुन्छ । हामी त्यो उत्साहमा अझै उचाई थपियोस भन्ने चाहन्छौं ।’
अपांगतर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहीन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका विजेतालाई पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस पटक सहभागीलाई समेत मेडलको व्यवस्था गरिएको मञ्चले जनाएको छ ।
तपाईको प्रतिक्रिया