पत्रकारलाई डिजिटल साक्षरता तालिम

समाधान संवाददाता २०८० माघ २२ गते १५:५५

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीमा आइतबारबाट डिजिटल साक्षरता तालिम सुरु भएको छ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवं गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदै छन् ।

Advertisement


पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशील पत्रकारको उपस्थिति छ । तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले समाजमा नकारात्मक सूचनाभन्दा सकरात्मक विषयलाई उठान गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।


महत्वकांक्षा आवश्यकताभन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या आएको भनाइ उनको छ । पत्रकारितामा पनि ब्ल्याकमेल हुँदा सो क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको उनले बताए । मन्त्री जुग्जालीले गन्तव्यमा पुग्न हतार गर्न नहुनेमा जोड दिए । मन्त्री जुग्जालीले गण्डकी प्रदेशमा यातायातमैत्री कानुन बनाउन आफूहरु लागिरहेको उल्लेख गरे । यातायात क्षेत्रलाई सुदृढ बनाउन नीतिगत तहलाई सुधार गर्नुपर्ने आवश्यकता ठानेर काम भइरहेको जानकारी उनले गराए ।

Advertisement


पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम समयसापेक्ष भएको बताइन् । तालिमले कास्कीका पत्रकारको डिजिटल सक्षमता बढाउन मद्दत पुग्ने विश्वास उनको छ । भण्डारीले प्रदेश सरकार पनि सुशासनमैत्री बन्नुपर्ने आवश्यकतालाई औंल्याएकी छन् ।


प्रशिक्षक सिग्देलले डिजिटल साक्षरता पछिल्लो समय महत्वपूर्ण विषय भएको उल्लेख गरे । उनले अनलाइन मिडिया सञ्चालन गरिरहँदा स्रोत सुरक्षाको आवश्यकतालाई समेत उठाएका छन् । पत्रकारलाई अनलाइन फ्रिडम स्पेसका बारेमा जानकारी हुनुपर्ने उनको भनाइ छ ।

Advertisement


पत्रकार महासंघ कास्कीले कास्कीका पत्रकारका लागि समयसापेक्ष तालिमहरु गर्दै आएको तालिम संयोजक महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया