जानकी मावि ४७ औं वर्षमा

समाधान संवाददाता २०८० माघ २५ गते १४:५६

पोखरा ।
जानकी माध्यामिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बुधबार भएको छ । कार्यक्रममा आफू पढ्न नपाए पनि सन्तति शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन् भनेर खरले छाएको भवन निर्माण गर्ने चन्द्रकान्त भण्डारी, चूडामणि भण्डारी र कर्णाखर भण्डारीलाई सम्मान गरिएको छ ।

Advertisement


सो अवसरमा विद्यार्थीलाई छात्रवृत्ति एवं शैक्षिक पुरस्कार वितरणसमेत गरिएको छ । कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औंल्याइन् । मुलुकको भाग्य र भविष्यसँग जोडिएको शिक्षा क्षेत्रको विकासका लागि सबै सचेत हुँदै आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ ।


अध्यक्ष योगीले प्रविधियुक्त र गुणस्तीय शिक्षामा जोड दिनुपर्ने विचार राखिन् । पछिल्लो समय सामुदायिक विद्यालयमा क्रमिकरुपमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले महानगरले शैक्षिक विकासमा सक्दो सहयोग गर्दै आएको जनाइन् ।

Advertisement


जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं अक्षयकोष दाता वीरेन्द्रनारायण बिजुक्छेले मुलुकमा दोहोरो शिक्षा प्रणालीको अन्त्य हुनुपर्ने आवश्यकता औंल्याए । पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीले आफूले प्राप्त गर्ने सेवा, सुविधाबाट ५ लाख विद्यालयलाई सहयोग गर्ने घोषणा गरे ।


सो अवसरमा सामूहिक अक्षयकोषमा जम्मा हुने र वार्षिकोत्सव सम्पन्न गर्न अभिभावकबाट करिब ८० हजार संकलन भएको छ । विद्यालयको भौतिक एवं शैक्षिक विकासमा योगदान गर्ने शिक्षाप्रेमी, उत्कृष्ट शिक्षक, अभिभावकलाई समारोहमा सम्मान गरिएको छ ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर शिक्षा शाखाका अधिकृत सोमनाथ भण्डारी, वडा सदस्य तारा सेवा, नेपाली कांग्रेस पोखरा १७ का सभापति डिआर भट्टराई, एमाले उपाध्यक्ष लालबहादुर राना, रास्वपा सभापति नूरबहादुर विक, बाल क्लबका अध्यक्ष प्रतीक्षा मल्ल लगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।


शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, शिक्षक तुलसी गिरीले पनि कार्यक्रममा बोलेका थिए । प्रधानाध्यापक अर्जुनप्रसाद कँडेलले विद्यालयको प्रतिवेदन पेश गरे ।

तपाईको प्रतिक्रिया