पोखरामा समको सम्झना

समाधान संवाददाता २०८० माघ २६ गते ११:०५

पोखरा ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण समको १ सय २२ औं सम जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा डा नारायणप्रसाद अधिकारीले बालकृष्ण समले साहित्यका सबै क्षेत्रमा अतुलनीय योगदान दिएर पनि राणा परिवारमा जन्मेकै कारण राज्यबाट उपेक्षित हुनु दुःखद भएको जनाउ ।

Advertisement


उनले थपे, ‘भक्ति, दर्शन, ज्ञान र विज्ञान मात्र नभएर साहित्यका सबै क्षेत्रका परम्पराको क्रमभंग गरेर कोशेढुंगा जस्ता नयाँ मानक सिर्जना गर्न सक्ने अभूतपूर्व प्रतिभाप्रति राखिएको पूर्वाग्रहले नेपाली वाङ्मयको श्रीवृद्धि हुँदैन ।’ आफूलाई समाजवादी भन्नेहरूले समको समाजवाद बुझ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले आर्मीको उच्च तहमा पुगेर, सम्पन्न परिवारमा जन्मेर पनि मलाई उच्च सम्बोधन नगर भनेर साधारण जीवन बिताउने समको समाजवादबाट आफूलाई समाजवाद र लोकतन्त्रका पहरेदार ठान्नेहरूले पाठ सिक्नुपर्ने उनको भनाइ छ ।


समाजसेवी विश्वमोहन गौचनले समलाई सिर्जनाको परिमाण र गुण दुवै दृष्टिकोणले नेपाली नाट्यसाहित्यमा विशिष्ट मानक र मूल्य स्थापित गरेका प्रतिभाका रूपमा चित्रण गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले १९७० मा खुलेको गोरखा भाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समितिमा परिणत गर्नेदेखि लिएर साहित्यका हरेक विधामा योगदान दिएका समको कदरमा कञ्जुस्याई गर्नु स्रष्टा, साधक सबैका लागि घातक हुने बताए ।


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका सदस्य दुर्गाबहादुर शाह ‘बाबा’ले समलाई नेपाली नाट्यजगत्का मूल्यवान् निधि र बहुमूल्य सम्पदाका रूपमा चिनाए । स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले राज्यको ढुकुटी रित्याएर वाङ्मयको सेवाका लागि स्थापना भएका संघ, संस्था पार्टीका भातृसंगठनका सम्पर्क कार्यालय जस्ता हुनु विडम्बनापूर्ण भएको औंल्याए ।


सिर्जना साहित्य सदन घाचोकका संस्थापक टेकनाथ पीडितले नेपाली वाङ्मयका त्रिमूर्ति कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटामध्ये पौड्याल र देवकोटाको योगदानको स्मरण राज्यबाट हुँदै गर्दा समको स्मरण समान रूपमा हुन नसक्नु बिडम्बनापूर्ण रहेको बताए ।

Advertisement


जरोटुप्पो संरक्षण साहित्य समाजका परिकल्पनाकार मदन भण्डारीले समलाई नेपाली साहित्य क्षेत्रको सर्वाङ्गीण विकासमा अद्वितीय योगदान दिएका स्रष्टाका रूपमा चिनाए । कार्यक्रममा शिक्षासेवी बलराम पराजुली, गजलकार विष्णु बास्तोला, साहित्यकार देवेन्द्र केसी, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, अनु बराल लगायतले आफ्ना रचना र धारणा राखेका थिए ।

सम जयन्तीमा बहस र नाटक
यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १ सय २१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एव) विदेशमा ख्यातिप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।


कार्यक्रममा ३ कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदारनाथ पौडेद्वारा लिखित एवं निर्देशित नाटक भ्रूणसमेत मञ्चन गरिने छ । कार्यक्रममा प्राडा रामचन्द्र पोखरेलको बालकृष्ण समको रंगमञ्चीय चेतना, डा अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत कालेबुङका नाट्यकर्मी सिके श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत गर्ने छन् ।


नाटकमा मानिसको भ्रूणावस्थाबाट मृत्युसम्मलाई चित्रण गरिएको कलाकार पौडेलले उल्लेख गरे । यसअघि पौडेलले एकल रुपमा अभिनय गरेको यो नाटकमा यसपालि उनीसँगै कपिल शर्मा, लक्ष्मण डुम्रे, अर्जुन गुरुङ र दीपक पौडेलले पनि अभिनय गर्ने छन् ।


सो अवसरमा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिनेछ । समारोहमा स्वदेशी एवं विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १ सय ५० जना उपस्थित हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया