रुसबाट नेपाल फर्कन डेढ सयको आवेदन

समाधान संवाददाता २०८० माघ २८ गते ११:१४

काठमाडौँ ।
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने ५ युक्रेनी सेनाको कब्जामा छन् ।

Advertisement


कन्सुलर सेवा विभागमा १ सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।


मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी दिएको छ ।

Advertisement


रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप २ नेपालीको मृत्यु भएको बताइन्छ । रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप १ नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ ।


रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए । उनले बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया