र्यान्डम रिडर्समा कखरा चर्चा

पोखरा ।
र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘कखरा’ उपन्यासमाथि परिचर्चा आयोजना गरेको छ । साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’माथि साहित्यकार हसिना बस्नेतले कार्यपत्र पेश गरिन् ।
बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् । ‘नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाको मनोविज्ञान अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्,’ उनी भन्छिन्, ‘आदर्श विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माता, अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नुपर्ने सूचीमा राख्नुपर्छ ।’
उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएको जनाउँदै शिक्षकले पढेमात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौँ’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा ‘स्कुलिङ’ हावी भएको बताए । देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए ।
आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएको भन्दै उनले खुसी व्यक्त गरे । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपाने, नेपालप्रकाश अधिकारी लगायतले टिप्पणी गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस आयोजना गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया