मच्छिन्द्रनाथ र भोटेजात्राको फोटो फागुन ७ सम्म

समाधान संवाददाता २०८० माघ २९ गते ११:०८

पोखरा ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा जारी रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्बिर प्रर्दशनी एक हप्ता लम्बिएको छ । अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् ।

Advertisement

‘पोखरामा पहिलो पटक भएर होला, धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले भनिन्, ‘अहिलेलाई एक हप्ता समय थपेका छौं ।’ फोटो प्रदर्शनी अब फागुन ७ गतेसम्म चल्नेछ ।


संग्रहालयले २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा फोटो प्रदर्शनीमा राखेको थियो । माघ २२ गतेदेखि सुरु भएको फोटो प्रदर्शनी एक हप्तामा ३ हजार २ सयजना भन्दा बढीले अवलोकन गरेका छन् ।


माघ २२ गते ललितपुरका मेयर चिरिबाबु महर्जन र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा फोटो प्रदर्शनी उद्घाटन गरेका थिए । प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्री लगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्बिरहरु पनि प्रदर्शनमा छन् ।


‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्बिर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो १ हप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् ।

Advertisement


प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्बिर पनि राखिएको छ ।


साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत राखिएको छ ।

तपाईको प्रतिक्रिया