पृथ्वी राजमार्ग पश्चिम खण्डः ४ ठाउँबाट एकसाथ कालोपत्र सुरु

पोखरा ।
मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डमा अहिले धमाधम काम भइरहेको छ । करिब एक महिनाअघि सडकको स्थलगत अनुगमन गरी संघीय भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई अब पनि काममा ढिलाइ गरे ठेक्का तोड्ने प्रक्रिया थाल्ने चेतावनी दिएपछि कामको रफ्तार बढेको हो ।
मन्त्री ज्वालाले दुवै खण्डका आयोजना प्रमुखहरुलाई यो सडकको प्रगति दैनिक रुपमा जानकारी गराउन निर्देशन दिँदै अब पनि हुने ढिलाइ सहन गर्न नसकिने चेतावनी दिएका थिए । आयोजनाको म्याद सकिनै लाग्दा पश्चिम खण्डमा कामको गति बढेको छ ।
चिनिया निर्माण कम्पनी अनहुइ काइयुआन आइवे एन्ड ब्रिजले यो खण्डमा कालोपत्र सुरु गरेको हो । केही दिनअघि तनहुँको दुलेगौडा क्षेत्रमा अस्फाल्ट पिच परीक्षणपछि कम्पनीले शनिबारबाट कालोपत्र थालेको हो । ठाउँ ठाउँमा बेस र सबबेसका कामसमेत भइरहेका छन् ।
आइतबारसम्म तनहुँ र कास्कीका ४ स्थानमा गरी करिब साढे तीन किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । ठाउँ ठाउँमा मापदण्डका भवन, संरचना भत्काउने, बिजुलीका पोल सार्ने, बेस र सबबेसका कामसमेत जारी छन् । आयोजनाका इन्जिनियर नारायण पौडेलले निर्माण कम्पनीलाई एक महिनाको लक्ष्य दिइएको र अहिले कम्पनीको काममा केही गति देखिएको उल्लेख गरे ।
तनहुँको जामुने, बेलचौतारा र हलेदी र कास्कीको पोखरा ३२ लामेआहालमा सँगसँगै कालोपत्रको काम भएको इन्जिनियर पौडेलले जानकारी दिए । यो सडक खण्डमा बेसको काम करिब ५ किलोमिटर र सबबेसको काम करिब ७ किलोमिटरमा भइसकेको छ । ‘कम्पनीको म्याद अब एक वर्ष पनि समय बाँकी छैन । अहिले मेनपावर, उपकरण बढाएको छ । फ्रेब्रुअरीभित्र ५ किमीसम्म कालोपत्र गर्ने लक्ष्य दिएका थियौँ,’ आयोजनाका इन्जिनियर पौडेलले भने ।
मंसिरसम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १५ प्रतिशत पुगेको छ । २०७८ भदौदेखि काम सुरु गरिएको यो खण्ड २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीका साइट म्यानेजर तायन युन्जुले सडक निर्माणलाई तीव्रता दिने गरी उपकरण, सामग्री र जनशक्ति अहिले खटिएको उल्लेख गरे । आयोजनाले दिएको लक्ष्य पूरा गर्दै समयमै काम सक्ने उनको प्रतिवद्धता छ । अस्फाल्ट पिच धेरै चिसोमा प्रभावकारी नहुने भएकाले चिसो घटेपछि काम थालिएको र अब तीव्र रुपमा अरु कामसँगसँगै कालोपत्रे पनि गरिने उनको भनाइ छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यले संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मको पहलले अहिले कामको गति बढेको उल्लेख गरे । कामको गति बढेको देखिए पनि सन्तुष्ट भइहाल्ने ठाउँ नरहेको र पोखरा क्षेत्रमा देखिने गरी काम हुनै बाँकी रहेको जनाए ।
पोखरा महानगर र प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी भइरहँदा राजमार्ग स्तरोन्नति ढिलो हुँदा आवागमन र आर्थिक क्षेत्रमै असर परेको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ पछिल्लो समय राजमार्गको कामअघि बढेकोमा आशावादी छन् ।
‘अहिले हामी खुसी छौँ, तर यो पर्याप्तचाहिँ होइन । समयमा नै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई झक्झक्याइरहेका छौँ,’ उनले भने । करिब ६ खर्ब लगानी रहेको पोखराको पर्यटन क्षेत्रको मेरुदण्ड पृथ्वी राजमार्ग सहज नभई प्रदेशको समृद्धि सम्भव नहुने उनले औंल्याए ।
यो सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइनेछ । एडिबीको ऋण सहयोगमा बन्न लागेको यो सडकको पश्चिम खण्डमा करिब ३९ किलोमिटर पर्छ । यसका लागि सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ ।
उता, पूर्वी खण्डमा दुईतर्फी गरी करिब २६ किमी कालोपत्र भइसकेको छ । मुग्लिनदेखि जामुनेसम्मको ४१ दशमलव ४५ किमी यो खण्डको भौतिक प्रगति ४५ प्रतिशत छ । बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको छ । त्यसमध्ये ७.२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र भएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया