गण्डकीमा अफ्रिकन स्वाइन फिभरको प्रकोप

५० करोडकाे क्षति, उपचार असम्भव

समाधान संवाददाता २०८० फागुन १ गते ११:१९

पोखरा ।
मंसिर तेस्रो साता पोखराका २ फर्मका ५५ बंगुर मरे । अफ्रिकन स्वाइन फिभरले पोखरा १४ र २३ का २ बंगुर फर्म खाली भएको पशु सेवा निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement


बंगुरमा यो रोग देखिएपछि उपचार गरेर पनि बचाउन असम्भव हुन्छ । पशु सेवा निर्देशनालयले किसानलाई जति सक्दो छिट्टो बंगुर खपत गर्न अनुरोधसमेत गरेको छ । निर्देशनालयकी महानिर्देशक डा प्रेरणा सेढाई भट्टराईले यस्तो बेला किसानले बिउँमात्र जगाउनुपर्ने बताइन् । उनले हुँर्किएका बंगुर जति सक्दो छिट्टो खपत गर्न किसानलाई आग्रह गरिन् ।


‘बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभरमा नेपालमा प्राप्त म्याक्सिनले पनि काम गरेको छैन । देखियो कि बंगुर बाच्ने सम्भावना छैन,’ महानिर्देशक भट्टराईले भनिन्, ‘अनिकालमा बिउँ जोगाउनु भन्ने छ नि, यस्तो बेला किसानले बंगुरको बिउ जोगाउनुपर्छ ।’


उनले गण्डकीमा लुकीछिपी बंगुर भित्र्याउँदा रोगको संक्रमण फैलिएको दाबी गरिन् । सस्तोमा पाइयो भनेर साना व्यवसायीले प्रदेश बाहिरबाट बंगुर ल्याउँदा रोग फैलिएको उनको भनाइ छ । यो रोग लाग्दा बंगुरको शरीरमा नीलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता लक्षण देखिन्छ ।


०७९ जेठ २ देखि अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा १६ हजार ५ सय ४५ बंगुर मरेको पशु सेवा निर्देशनालय गण्डकीले जनाएको छ । । तीमध्ये अधिकांश कास्कीकै फर्मका बंगुर छन् ।

Advertisement


निर्देशनालयका अनुसार यसबाट ५० करोड जति नोक्सान भएको छ । यो वर्ष साउन यता कास्कीमा ५५, तनहुँमा ३०, लमजुङ १४ र गोरखामा १३ गरी १ सय १२ वटा बंगुर मरेका निर्देशनालय जनाएको हो । पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले अब कास्कीमा ५ हजार हारहारीमात्र बंगुर रहेको सुनाए ।


यो रोगका कारण प्रदेश सरकारले छुट्याएको अनुदानसमेत बाड्न नसकिएको महानिर्देशक भट्टराईको भनाइ छ । पछिल्ला दिनमा कास्की, तनहुँ, गोरखा र लमजुङमा यो रोग फैलिएको छ । प्रदेश सरकारले रामदी र मुग्लिनमा क्वारेन्टिन बनाउने भने पनि अझै बनेका छैनन् ।


जसका कारण प्रदेश भित्रिने पशुहरू असुरक्षित छन् । गण्कडीका अघिल्लो वर्ष १० हजार बंगुर फर्म किसान रहे पनि अहिले ३ सय हारहारीमात्र किसान रहेको निर्देशनालयले जनाएको छ । यसरी बंगुरपालक कम हुँदा अहिले मासुको मूल्य भने बढ्दो छ । बंगुरको मासु प्रतिकेजी ५ सय ४० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया