चिप्लीमा २४ गतेबाट महाशिवरात्रि मेला

समाधान संवाददाता २०८० फागुन ७ गते १२:५८

पोखरा ।
फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने मेला क्लबको खेल मैदानमा हुने भएको हो ।

Advertisement


मेलाको अवसरमा विविध खेलकुद एवं साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । ३६ वर्षअघि स्थापना भएको क्लबको वार्षिकोत्सवको अवसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी गराए । ‘चिप्ली महाशिवरात्रि मेला क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने, ‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।’


चिप्लीको विकासमा उक्त कार्यक्रम मार्फत टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । स्थानीय उत्पादनको प्रवद्र्धनसँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाईमाथि उठाउन मेला साहायक सिद्ध हुने उनले उल्लेख गरे । मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेजसमेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्ने तय छ ।

Advertisement


मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरीय हुनेछ । जसमा २० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार र दोस्रो हुनेले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगदसहित फेता र प्रमाणपत्र प्राप्त गर्ने छन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Advertisement


घैटो फुटाई प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गुरुङले जानकारी गराए ।

तपाईको प्रतिक्रिया