विद्यालयस्तरीय क्रिकेटमा सगरमाथा र अमरसिंह माविको जित

समाधान संवाददाता २०८० फागुन १३ गते १२:४८

पोखरा ।
पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् । बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एन्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् ।

Advertisement


पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३ सय २ रनको विजयी लक्ष्य पछ्याएको कुमुदिनी होम्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८३ रनमै समेटिएको हो । कुमुदिनी होम्सका लागि अनन्त सुवेदीले १६ र समिप दासले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।


बलिङमा सगरमाथाका सत्यजित शर्मा र किर्बिन श्रेष्ठले २/२ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले किर्बिन श्रेष्ठको दोहोरो शतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । किर्बिनले ७४ बलमा शानदार दोहोरो शतक प्रहार गरेका थिए । उनी २०४ बलमा अविजित रहे ।


मोहमम्द मियाले ५७ रनको योगदान दिए । बलिङमा कुमुदिनी होम्सका लक्की गुप्ताले २ र संकल्प पौडेलले १ विकेट लिए । दोहोरो शतक प्रहार गरेका किर्बिन प्लेयर अफ द म्याच बने ।


शनिबार नै भएको दोस्रो खेलमा अमरसिंह माविले एसओएस गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । एसओएस गण्डकीले दिएको ९८ रनको लक्ष्य अमरसिंहले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । अंमरसिंहका सुमन पन्तले ३६, विमोचन सापकोटाले २२ र कल्यान कुमालले १९ रन बनाए । बलिङमा एसओएस गण्डकीका कपिल पौडेलले १ विकेट लिए ।

Advertisement


यसअघि पहिला ब्याटिङ गरेको एसओएस गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । एसओएस गण्डकीका कपिल पौडेलले अविजित ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । बलिङमा अमरसिंहका सुस्मत गौतमले सर्वाधिक २ विकेट लिए । खेलको लेयर अफ द म्याच अंमरसिंहका सुमन पन्त घोषित भए ।


प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


छक्का क्याच गर्ने दर्शकलाई १ हजार
पोखरा रंगशालामा जारी पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा छक्का आएको बललाई क्याच गर्ने दर्शकलाई पुरस्कार दिने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा खेलाडीले प्रहार गर्ने प्रत्येक छक्का क्याच गर्ने दर्शकलाई पुरस्कार दिने प्रतियोगिता संयोजक उदीप ढुंगानाले जानकारी दिए ।


दर्शकलाई क्याच गरेवापत प्रत्येक क्याचको १ हजार प्रदान गरिने ढुंगानाले सुनाए । फागुन ९ गतेबाट सुरु भएको प्रतियोगिता १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीको १२ विद्यालयले सहभागिता जनाएका छन् ।


प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया