पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोडर्नाइज विजयी

समाधान संवाददाता २०८० फागुन १४ गते ११:३१

पोखरा ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाँचौँ दिनको खेलमा मदरल्यान्डले बाल मन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् ।

Advertisement


पहिलो खेलमा मदरल्यान्डले बाल मन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको बालमन्दिरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदैमात्र १ सय रनमात्र बनाउन सक्यो । बाल मन्दिरका सुन्दर मगर २३ र सुमन अधिकारीले २१ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

बलिङमा मदरल्यान्डका अर्पित पौडेलले २ विकेट लिए यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । मदरल्यान्डका दशरथ सुवेदीले सर्वाधिक २६ रन जोडे । सन्दीप विकले २२ र किरण पौडेलले १८ रनको योगदान दिए । बाल मन्दिरका मदन ढुंगाना, आदित्य देवकोटा र सागर आचार्यले समान २ विकेट लिए । मदरल्यान्डका दशरथ सुवेदी प्लेयर अफ द म्याच घोषित भए ।


आइतबार नै भएको दोस्रो खेलमा कास्की मोर्डनाइजले छोरेपाटन माविलाई ४७ रनले पराजित गरेको हो । कास्की मोर्डनाइजले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको छोरेपाटन मावि १३ ओभर ३ बलमा ६६ रनमा समेटिएको हो । छोरेपाटनलाई सस्तोमा समेट्न कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवरले सर्वाधिक ४ विकेट लिए । नर्मत सुवेदीले ३ विकेट लिए । ब्याटिङमा छोरेपाटनका तिलोचन सुवेदीले सर्वाधिक १६ रन बनाए । अन्य ब्याटर क्रिजमा टिकेर खेल्न सकेनन् ।


यसअघि पहिला ब्याटिङ गरेको कास्की मोडनाइजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । कास्की मोडनाइजका लागि कप्तान सोहिल कुँवरले ६८ र मन्जित थापाले १४ रन जोडेका थिए ।

Advertisement


बलिङमा छोरेपाटनका प्रसान्त भण्डारीले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवर प्लेयर अफ द म्याच चुनिए । बि बग इभेन्ट्सको आयोजनामा तथा एक्स्पर्ट एजुकेसन एन्डा भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् ।


उपाधि प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया