प्रादेशिक ललितकला प्रदर्शनी सुरु

पोखरा ।
पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा शनिबारबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० लाइट र आवश्यक पर्ने थप सरसामान सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ । आगामी दिनमा थप सहयोगसमेत गर्ने तयारी प्रतिष्ठान गण्डकीले गरेको जनाएको छ ।
सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
‘सामाजिक रुपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
२३ गतेसम्म चल्ने प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ कला सामेल छन्
अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । ५ दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ । समापनक दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रमसमेत गरिनेछ ।
यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम आयोजना भएकाले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा रहेको छ ।
प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कारसमेत प्रदान गरिनेछ । सबै विधाबाट उत्कृष्ट हुने १ जनालाई ५० हजार रुपैयाँ, चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ २ जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्ने छन् ।
यसका अलावा प्रदर्शनीमार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजनाअगाडि सारेको बताए ।
‘जाति जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ, सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं’ उनले भने । प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरुको तयारी रहेको उनले खुलाए । समाजको तल्लो तहसम्म पुगेर समाजको तल्लो तहमा रहेको कलालाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गरिरहेको उनको भनाइ छ ।
‘स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तराष्ट्रिय स्तरमा पुर्याउने तथा अन्तराष्ट्रियबाट केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउनेछौं,’ उनले थपे । समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण हुने भएकोले सोही अभियानका साथ आफूहरुले काम गर्न थालेको उनले सुनाए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तु तथा अन्य सिर्जनात्मक विभाग प्रमुखसमेत रहेकी कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ, सहयोगमा पोखरामा प्रदर्शनी गर्न लागिएको बताइन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले अबदेखि हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए । त्यसरी आयोजना गरिने प्रदर्शनी हरेक वर्ष प्रदेशका फरक फरक जिल्लामा गर्ने तयारी गरिएको खुलाए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सिर्जनशील कलाकार समुह पोखराका कार्यबहाक अध्यक्ष डिबी गुरुङले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया