माछापुच्छ्रे महिला क्लब सम्मानित

समाधान संवाददाता २०८० फागुन २४ गते १२:४६

पोखरा ।
नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सक्रिय र उदाहरणीय कार्य गरेवापत क्लबलाई सम्मान गरिएको हो ।

Advertisement


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समूहलाई सम्मान गरे । उनले सामूहिक प्रयासले मात्र पोखरालाई सफा, सुन्दर र हरियाली बनाउन सकिने जनाए । समाजलाई सुसंस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजकतालाई सकारात्मक प्रयासमार्फत निर्मूल पार्नुपर्ने उनको भनाइ छ । पोखरालाई हरित सहरका रुपमा विकास गर्न लागिएको स्पष्ट पार्दै उनले वातावरण पर्यावरण मैत्री बनाउन खोजेको जनाए ।


घरमा हरियो रङ पोत्ने पोखरामहानगरले कहिँकतै निर्णय नगरेको उनले स्पष्ट गरे । सहरमा वृक्षारोपण, प्रकृति संरक्षण गर्दै समुन्नतिको दिशामा जाँदा हरियाली सहर बनाउने अभियान साकार हुने उनको भनाइ छ ।

Advertisement


पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आफ्नो वडाको क्लब सम्मान भएकोमा खुसी व्यक्त गरे । स्व.ललित गौचनसँग लामो समयसम्म आफूले पनि जोडिएर काम गरेको उनले स्मरण गरे । मासबार आमा समूहका अध्यक्ष शारदा गिरीले सुरुवाती दिनमा ललित गौचनसँग जोडिएर पोखरा ७ मा थुपै्र सामाजिक कार्य गरेको सम्झिइन् ।


सम्मानित संस्था माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीता पौडेलले सम्मानले क्लबलाई थप ऊर्जा मिलेको जनाइन् । उनले फोहोरलाई मोहर बनाउन महानगरपालिका र वडाले सहयोग गरे थप सक्रियताका साथ फोहोर मैला व्यवस्थापनमा लाग्ने उनको प्रतिवद्धता छ । नागरिक समाज कास्की संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान कार्यक्रम संयोजक विष्णुहरि अधिकारी र समाजका प्रवक्ता गोकुलबहादुर कार्की लगायतले बोलेका थिए ।

Advertisement


यो सम्मानबाट यसअघि प्रभा पन्त, गिरिराज अधिकारी, विश्वरत्न शाक्य, ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ, विष्णुप्रसाद गुरुङ, दिलीपराज श्रेष्ठ र सन्ध्या गुरुङ तुलाचन सम्मानित भईसकेका छन् ।

तपाईको प्रतिक्रिया