जोमसोममा १५ गतेबाट २ बसपार्क चल्ने

सुन्दरकुमार थकाली २०८० चैत २ गते १३:५६

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा निर्माणाधीन २ बसपार्क चैत १५ गतेदेखि सञ्चालन गरिने भएको छ । बुधबार बसेको सरोकारवालाको बैठकले ती बसपार्क चलाउने सहमति गरेको हो ।

Advertisement


गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा बसेको बसपार्क सञ्चालन तथा आवश्यक तयारी बैठकमा प्रहरी, प्रशासन, जिल्लाका यातायात तथा पर्यटन व्यवसायी सहभागी थिए । सदरमुकाम जोमसोमको अव्यवस्थित पार्किङले आवागमन समस्या परेको र सदरमुकाम क्षेत्रमा जथाभावी गाडी राख्ने बजारसमेत कुरुप देखिएको सहभागीले बताएका थिए ।


बनिसकेको बसपार्कलाई यथाशीघ्र चलाउन यातायात तथा पर्यटन व्यवसायी सहमत भएका हुन् । कुनै यातायात व्यवसायी तथा कम्पनीले दुई वटै बसपार्कमा अलग काउन्टर सञ्चालन गर्नेले बजार क्षेत्रमा एक टिकट बिक्री केन्द्र राख्न पाउने निर्णय गरिएको छ । गाउँपालिकामा रहेका बसपार्कका पूर्वाधार पूरै व्यवस्थित नभई गाउँपालिकाले बसपार्क सञ्चालन ठेक्काबाट गर्न आह्वान गरेकोमा व्यवसायीले असन्तुष्टि जनाए ।


घरपझोङ ३ एक्लेभट्टी र घरपझोङ ४ जोमसोममा बसपार्क बनेका छन् । एक्लेभट्टी बसपार्क गाउँपालिकाले ४८ लाख खर्चिएर निर्माण गरेको हो । २०७५ मा निर्माण सुरु गरिएको यो बसपार्कमा अझै पर्याप्त पूर्वाधार छैनन् । घरपझोङ ४ मा निर्माण भएको बसपार्कमा समेत अझै आवश्यक पूर्वाधार नभएको व्यवसायीको भनाइ छ । उनीहरुले बसपार्कमा आवश्यक संरचना निर्माण गरेरमात्र सञ्चालन गर्नुपर्ने अडान राखेका छन् ।


जोमसोम बसपार्क २०७३ मा संघीय सरकार अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २ करोड ५० लाख लागतमा निर्माण गरेको थियो । बसपार्क गत वर्षको जेठमा पालिकालाई हस्तान्तरण गरिएको थियो । पालिकालाई हस्तान्तरण भएको जोमसोम बसपार्क १० महिनापछि सञ्चालनमा ल्याउन लागिएको हो ।

Advertisement


बसपार्क प्रयोग गरेवापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५ रुपैयाँ शुल्क तोकिएको छ । हलुका सवारी साधनलाई १५ रुपैयाँ र मोटरसाइकललाई प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया