बागलुङका विकसहित रुसमा थप ७ नेपालीको मृत्यु

समाधान संवाददाता २०८० चैत २ गते १४:०३

काठमाडौं ।
रूसी सेनामा कार्यरत बागलुङका जितबहादुर विकसहित थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्ररूसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले उनीहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Advertisement


बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी, धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी र सुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।


यसअघि १२ जना नेपालीको मृत्यु भएको पुष्टि पनि नेपाल सरकारले नै गरेको थियो । थप ७ जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ ।

Advertisement


परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ ।
मन्त्रालयले मंसिर १८ र पुस ४ गते विज्ञप्तिमार्फत् सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गरेको बताएको थियो ।


परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहे जनाए पनि रसियन सेनामा भर्ना हुने क्रम रोकिएको छैन ।

Advertisement


रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ । रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई मन्त्रालयले फेरि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया