‘१० तालिम लिएर हिँडेरै अमेरिका नजानुस्’

समाधान संवाददाता २०८० चैत २ गते १६:५१

पोखरा ।
वडा कार्यालय, पालिका, प्रदेश, संघ, सामाजिक संघ, संस्थादेखि संघ सरकारसम्मले विभिन्न तालिम, प्रशिक्षण चलाइरहेका छन् । प्राविधिक सीप सिकाउने र यसबारे औपचारिक अध्यापन गराउने संघ, संस्था पनि निकै खुलेका छन् । तर, विभिन्न सीप सिकेर पनि विदेसिनेको संख्या घटेको छैन ।

Advertisement


गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल युवा वर्गलाई सके उद्यमी बन्न त्यसो नभए रोजगार, स्वरोजगार बन्न आग्रह गर्छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘१० वटा तालिम सिकेर देशमा कामै नगरी घर बेचेर हिँडेरै अमेरिका जानेबारे नसोच्नुस् ।’


तालिम समापन समारोहमा सचिव पौडेलले अहिले देशको मुख्य कार्यभार नै युवालाई देशमै राख्ने र समृद्धिको सहयात्री बनाउने भएको उल्लेख गरे । उनले तालिममा सीकेको सीप उपयोग गरी जीवनमा केही गरेमात्र यसको अर्थ हुने जनाए ।

Advertisement


सचिव पौडेल, केन्द्रका कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्ले लगायतले विभिन्न तालिम लिएका सहभागीलाई प्रमाणपत्र वितरण गरे । फेसन डिजाइनमा २० जना, हाउस वायरिङमा १९ जना, प्लम्बिङमा १८ जना र कम्प्युटर तालिममा १९ जना सहभागी थिए ।
केन्द्रका कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्लेले तालिमबाट मानिसको ज्ञान, सीप र धारणा विकास हुने उल्लेख गरे । उनले देशमै उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्न यस खालका तालिम आयोजना गरिएको जनाए । तालिमपछि देशमै उत्पादनमा लाग्न आग्रह गर्दै उनले कदंकदाचित विदेश जानुपरे पनि दक्ष जनशक्तिका रुपमा काम गर्न सहयोग पुग्ने उल्लेख गरे ।


तालिमकी प्रशिक्षक गीता बस्यालले सिद्धान्तसहित फिल्डमा गएर सीप सिकाइएकाले त्यसलाई उपयोग गर्न आग्रह गरिन् । ‘तपाईहरुले निशुल्क सिके पनि यसमा कसै न कसैको, तपाई, हाम्रै लगानी परेको छ,’ उनले भनिन्, ‘आर्जित सीपलाई उपयोग गरी जीवनलाई बदल्नुहोस् ।’

Advertisement


कार्यक्रममा हाउस वाइरिङका प्रशिक्षक धीरज बस्याल, फेसन डिजाइनकी प्रशिक्षक शान्ति आलेमगर, प्लम्बिङका प्रशिक्षक कृष्णबहादुर थापा, केन्द्रका लेखा अधिकृत विनोद रेग्मी लगायतले बोलेका थिए । केन्द्रले पोखरामा ९ र पोखराबाहिर ८ प्रकारका तालिम दिएको छ । पोखरामा रहेको यो केन्द्रको कार्यक्षेत्र गण्डकीका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर गरी ७ जिल्ला हुन् ।

तपाईको प्रतिक्रिया