पोखरा पर्यटनको राजधानी

समाधान संवाददाता २०८० चैत ४ गते १०:०७

पोखरा ।
पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्न लागिएको छ । गण्डकी प्रदेशकोे राजधानीसमेत रहेको पोखरालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आइतबार पर्यटनको राजधानी घोषणा गर्न लागेका हुन् ।

Advertisement


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेवाताल किनारा बाराहीघाटमा हुने औपचारिक घोषणा सभामा यस्तो घोषणा गर्ने छन् । पोखराका मेयर धनराज आचार्यले महानगरपालिकाको कार्यपालिका तथा गण्डकी प्रदेश सरकारको निर्णय अनुसार पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागेको जनाए । उनले पोखरा गण्डकी प्रदेशको पर्यटनको हब भएको उल्लेख गरे ।


अन्तर्राष्ट्रिय अभ्यास, राजधानी घोषणा भएपछि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यक्रम तय गरेको उल्लेख गर्दै उनले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको नेतृत्वको प्राविधिक टोलीको २० सूचकको आधारमा प्रतिवेदन तयार गरी बुझाएको जानकारी दिए । आचार्यले प्रदेश सरकार, पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम, बजेटको तयारीको बेलामा घोषणा गर्दा कार्यक्रममा समेट्न र बजेट विनियोजन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement


तीन तहका सरकारले पञ्चवर्षीय योजना बनाउँदै गर्दा नीतिगत रुपमा यसलाई प्राथमिकतामा राख्न सजिलो हुने बताए । ‘पोखरालाई पर्यटनको राजधानी घोषणाका लागि २०७५ सालदेखि सुरुवात भएको हो । चैतको पहिलो साता कार्यक्रम तय गरिएको छ,’ उनले भने, ‘अब नगर्दा ढिलो हुन्छ । त्यही भएर घोषणा गर्न लागेका छौं ।’ उनले विश्व बजारमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न अभ्यास प्रचलनमा रहेको सुनाए ।

निश्चित मापदण्ड पूरा गरी मुख्य बजार क्षेत्रका व्यापार, व्यवसाय चौबिसै घन्टा खोल्न पाइने

Advertisement


पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रम मुल समारोह समितिका संयोजकसमेत रहेका मेयर आचार्यले राजधानी घोषणापछि पोखरा एक पटक जानुपर्छ भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने योजना सुनाए । पोखरा सम्भावना भएको क्षेत्र भएत ापनि बजारीकरण गर्न नसकेको चर्चा गर्दै उनले घोषणापछि मानव संशाधन, भौतिक पूर्वाधारसहितको समृद्ध पर्यटकीय सहर बनाउन ध्यान दिने वाचा गरे ।


उनले पर्यटन प्रवद्र्धनमार्फत जनताको जीवनस्तरमा सुधारसहित रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास उनको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि प्रदेश तथा महानरपालिकाले गरेको सिफारिसलाई संघ सरकारले अनुमोदन गरेको छैन । उनले संघ सरकारले औपचारिक निर्णय नगरेको भए पनि प्रधानमन्त्रीले घोषणा गर्नुलाई संघ सरकार सकारात्मक भएको प्रमाणको रुपमा लिनुपर्ने तर्क गरे ।


गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले गण्डकीमा पर्यटनको क्षेत्रमा ७ अर्ब लगानी भएको जानकारी दिइन् । उनले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको उल्लेख गरिन् ।


उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले औपचारिक कार्यक्रम हुनुभन्दा अगाडि लेकसाइडको बसुन्धरा पार्कदेखि विभिन्न झाँकी सहितको ¥याली निकाल्ने तयारी गरिएको बताए । समारोहमा प्राकृत पोखराका लेखक तथा भाषाविद् प्राडा मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिनेछ । यस्तै, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको निर्माणमा योगदान पु¥याएका भूगोलविद् डा हर्क गुरुङ र प्रसिद्व गायक तथा संगीतकार प्रेमप्रकाश मल्ललाई समेत मरणोपरान्त सम्मान गरिनेछ ।


लोकगायिका हरिदेवी कोइराला, प्रकाश सपूत, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल र गायक धर्मेन्द्र सेवानको विशेष प्रस्तुति समारोहमा रहनेछ । यसैबिच, शनिबार भएको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घन्टा खुला गर्ने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकले केही मापदण्ड तय गरी ती मापदण्ड पूरा गर्नेहरुलाई चौबिसै घन्टा खुला गर्न दिने निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया