अर्जुन कार्कीलाई सुनको बल

पोखरा ।
अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पाएका हुन् ।
पोखराको हिमालयन गल्फ कोर्स भएको प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।
चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।
पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।
प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे । महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।
क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।
२ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १ सय १७ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु ।’ समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।’
एनसेलका सिइओ जाब्बोर कायोमुभले बाह्रखरी मिडियासँग आपसहकार्य विगतदेखि नै रहेको बताउँदै आगामी दिनमा पनि निरन्तरताको प्रयास गर्ने बताए । कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापा, सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य, बह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले बोलेका थिए ।
तपाईको प्रतिक्रिया