पोखरा १५ मा मोटरेबल पुल बन्दै

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ मा मोटरेबल पुल शिलान्यास गरिएको छ । महानगरका मेयर धनराज आचार्यले ठूली मजुवा स्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने १२ मिटर लामो मोटरेबल पुल सोमबार शिलान्यास गरेका हुन् ।
मेयर आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको भोलिपल्टको पहिलो बिहानीमा पुलको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए । उनले पुलका लागि आवश्यक बजेटको व्यवस्थापन गरेरमात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मितिअगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
आचार्यले भने, ‘पैसा नभएका कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला ।’ उनले यस पुलको निर्माणले यहाँका स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
मेयर आचार्यले यही ठाउँमा अवस्थित फूलबारी होटेल सञ्चालनको कुरालाई धेरै पटक सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेको भन्दै उक्त होटेल आगामी भदौसम्ममा सञ्चालनमा आउने सूचना आफूले पाएको सुनाए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेपछि फूलबारी होटेल जस्तो सिधा पर्यटकसँग सरोकार राख्ने ठूलो व्यापारिक प्रतिष्ठान खुलाउनु आफूहरूका लागि पनि दबाब रहेको भन्दै रिसोर्ट सञ्चालनका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको पनि जनाए ।
पुल निर्माणको जिम्मा पाएको ज्ञान एनएम बिडीबी जेभीका प्रतिनिधि इन्जिनियर खेमराज तिमिल्सिनाले महानगरपालिकाले दिएको डिजाइन र इस्टिमेट अनुसार गुणस्तरीय रूपमा समयमै काम सक्ने प्रतिबद्धता गरे । पोखरा महानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले कम्पनीसँग २ करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको सम्झौता भएको बताए ।
१२ मिटर लम्बाई रहने पुलको दुबैतर्फ १.२ मिटरको फुटपाथ, ९ मिटर उचाइ हुनेछ । २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको पाण्डेले जानकारी दिए ।
पोखरा १५ का अध्यक्ष तोरण बानियाँले यो पुल आफू वडाध्यक्षमा निर्वाचित भएर आउनुअगावै डिपिआर तयार भएर ५० लाख बजेट विनियोजन भएको र आफूहरू आइसकेपछि थप ५० लाख थपेर १ करोड बनाइए पनि बारम्बार ठेक्का आह्वान गर्दा ठेक्का प्रक्रियामा जान नसकिरहेको अवस्थामा बल्ल थप बजेटबाट पुल निर्माणको थालनी गर्न सम्भव भएको बताए ।
उनले यस क्षेत्रका अधिकांश बासिन्दा बसाइँ सरी आएकाले यो पुलको निर्माणले दुई बस्तीलाई जोड्नुका साथै नयाँ आपसी सम्बन्धको विकास हुने आशा व्यक्त गरे । कार्यक्रमम वडा सदस्य आशीष भण्डारीले पनि बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया