६६ प्रतिशतको बास सहरमा

समाधान संवाददाता २०८० चैत ७ गते १२:३२

काठमाडौं ।
राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत ४ प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरे ।

Advertisement


पछिल्लो जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक १९६८ सालमा लिएको जनगणनासँग तुलना गर्दा अहिले करिब ५ गुणाले जनसङ्ख्या वृद्धि भएको र जनसङ्ख्या वृद्धिदर यही कायम रहे नेपालको जनसंख्या दोब्बरले वृद्धि हुन ७५ वर्ष लाग्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।


पहाडी र हिमाली क्षेत्रका ३४ जिल्लाका वार्षिक जनसङ्ख्या ऋणात्मक र तराईका सबै जिल्लाका जनसङ्ख्या धनात्मक रहेको, सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस १ दशमलव ६७ प्रतिशत र सबैभन्दा बढी काठमाडौँमा ७ प्रतिशत वृद्धिदर रहेको तथा करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

Advertisement


यसैगरी विसं २०६८ को तुलनामा समग्र साक्षरता दर ९ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव २ प्रतिशत पुगेको, महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको, पहाडमा सबैभन्दा बढी ८० दशमलव ९ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर छ ।


अन्य लिङ्गीको जनसङ्ख्या २ हजार ९ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्थासम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव ८ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ ।

Advertisement


विसं २०७८ को जनगणनाअनुसार परिवारको आकार औसतमा ४ दशमलव ४ जना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा ४ दशमलव ७, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा ४ दशमलव ५ जना सदस्य परिवारमा छन् ।
राष्ट्रिय जनगणना २०७८ का क्रममा मुलुकको आमसञ्चारमाध्यमले अपेक्षा गरेअनुसार समाचार सामग्री सम्प्रेषण गरेको सो अवसरमा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी रायाले मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने राष्ट्रिय जनगणना अभियानलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा खटिने व्यक्ति सङ्घसंस्था, वर्ग, समुदाय सबैलाई धन्यवाद दिँदै निरन्तर चलिरहने विषयगत क्षेत्रका गणनामा पनि सरोकारवाला पक्षबाट यसअघिजस्तै साथ सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया