सम्पादकीयः सभ्यताको कलंक छुवाछुत

नेपालको संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय भेदभावको अन्त्य गर्ने संकल्प गरेको छ । आर्थिक वर्ष २०८०÷०८१को बजेट बक्तव्यमा सबै प्रकारका हिंसा शोषण, विभेद र दुव्र्यवहारको अन्त्य गर्ने घोषणा समेत गर्यो । संविधानको धारा २४मा जातीय छुवाछुत विरुद्धको हकमा कसैले कसैलाई धर्म, परम्परा, रीतिरिवाज वा आस्थाको आधारमा भेदभाव गर्न नपाइने व्यवस्था छ । यदि त्यस्तो कार्य गरेमा दण्डनीय हुने कानुनी व्यवस्था छ । जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर तथा सजाय) ऐन २०६८ले छुवाछुत तथा भेदभावजन्य क्रियाकलापहरु निजी तथा सार्वजनिक स्थानमा कुनैपनि वहानामा गर्न निषेध गरेको छ । त्यस्तो कार्यलाई दण्डनीय सामाजिक अपराध माने पनि रोकिएको छैन ।
अर्कोतर्फ केही असमानता अनि गैरमानवीय चलनहरु मध्ये एउटा चलन अनि प्रयोग हो, रंगभेदि परम्परा । काला र गोराका बीचमा हुने भेदभाव अनि दासप्रथाका केही बाँकी पारम्पारिक अवशेषहरुका विरुद्धमा हरेक वर्षको मार्च २१ तारिखका दिन अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस मनाईने गरिएको छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजकै दिन जातीय भेदभाव विरुद्ध निकालिएको शान्तिपूर्ण र्यालीमा प्रहरीले अमानवीय दमन गर्दै निशस्त्र ६० जना को निर्मम हत्या गरेको संझनामा आजको दिवस मनाईन्छ ।
२१ औ शताब्दीमा समेत जात अनि जातीय विभेद आज पनि संसारभरिका देशहरुमा कुनै न कुनै रुप या तवरमा जरो गाडेर बसेको छ । नेपालको सन्दर्भमा जातीय रुपमा गरिने भेदभाव तथा विभेद विगतको तुलनामा केही घटेपनि पूर्ण रुपमा हटेको छैन । आफ्नै जातमा स्वजातीय विवाह गर्नु नराम्रो त पक्कै हैन तथापि अर्को जातलाई आफ्नो परिवारमा सहर्ष स्वीकार गर्न नसक्नु भने विभेदको स्वरुप हो । गाँउगाँउमा अझै पनि आफ्नो जातकै कारणले छिछि दुरदुर सहन गरेर, संकुचित काममात्रै गरेर, विभेद सहेर अनि आफू र आफ्ना परिवारलाई दोश्रो श्रेणीको नागरिक या अनागरिककै रुपमा बाँच्ने परिस्थितिमा रहेका परिवारजनहरु थुप्रै छन् ।
एउटा तथ्य भने प्रष्ट छ, पेशा प्रतिको समान दृष्टि नहुन्जेलसम्म जातीय उत्पीडन कायम नै रहन्छ । एउटा फलामको काम गर्ने ब्यवसायीले आफ्नो शिल्पको प्रयोग मन्दिर निर्माणकर्ता अनि फलामका शिल्पकार सर्जक आँफै मन्दीर भित्र जानबाट रोकिन्छन् । सिलाईएका कपडाहरुलाई लगाउन हुने तर सिलाउनेलाई विभेद गर्ने परम्परा, जुत्ता र छालाका सामग्री लाई सम्पन्नताको प्रतिक मान्ने तर त्यस्का सर्जकलाई विभेद गर्ने यस्ता धेरै पेशागत विभेदले जातीय असमानता र उत्पीडन निम्ताएको छ । जातका नाममा गरिने शोषण, उत्पीडन र छुवाछुत मानव सभ्यताको कलंक हो । त्यसैले सबै खालका असमानता र विभेदको अन्त्य गर्दै आम नागरिकलाई सम्मानित जीवन यापनको व्यवस्था गर्नु पर्छ । मानव अधिकार, सामाजिक न्याय र मानव मर्यादा सद्भावका लागि सबै सरोकारवालाको सकारात्मक र रचनात्मक सहकार्य आवश्यक पर्छ ।
तपाईको प्रतिक्रिया