होलीमा म्युजिक फेस्टिभल हुने

पोखरा ।
रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोस्रो होली म्युजिक फेस्टिभल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यही चैत ११ गते आइतबार पोखराको लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्युजिक फेस्टिभल गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
२०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोस्रो होली म्युजिक फेस्टिभल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोष स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ । प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्युजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य न्यान्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारले प्रस्तुति दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए ।
कार्यक्रममा देउराली ब्यान्डका आनन्द बज्राचार्य, विनोद बानियाँ, पखेरी ब्यान्डका ईन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस ब्यान्डका प्रकाश राना र रोहनजंग कार्कीले समेत सो अवसरमा दर्शकलाई मनोरञ्जन दिने छन् ।
कार्यक्रमको अन्त्यमा डिजे भिटिजे विजयले डिजेइङको मज्जा चखाउँदै समापन गर्ने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ ।
राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्युको मुखमा पुग्ने अवस्था अहिले पनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष गुरुङले बताए । उनले कला संगीतको विकास अनि संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सघाउने अपेक्षा सुनाए ।
संघका सचिव तथा कार्यक्रम संयोजक भाष्करध्वज श्रेष्ठले फागुपूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको बताए । उनले भने, ‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सघाउनु कार्यक्रमको उद्देश्य हो । कलाकारहरु माग्न जान्दैनन् । अवस्था जतिसुकै दयनीय भए पनि सहयोगका लागि हात फैलाउँदैनन् । तर अवस्था नाजुक भने हुन्छ त्यसैले ती सबै कलाकारको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’
तपाईको प्रतिक्रिया