सम्पादकीयः डढेलो नियन्त्रणमा ध्यान देऊ

चैत, वैशाखमा वनमा डढेलो लाग्ने गर्छ । वनमा आगो लाग्दा वनका पतकरमात्र जल्दैनन्, त्यहाँ घाँसपात जल्छन्, बोटविरुवा मर्छन् । सँगसँगै पारिस्थितिक प्रणालीको एउटा चक्र नै तहसनहस हुन्छ । कहिलेकाँही वन छेउछाउका वस्ती र आगो निभाउन जानेलाई समेत आगोले क्षति गर्छ । अहिले गण्डकी प्रदेशमा पनि मुस्ताङबाहेक सबै जिल्लामा डढेलो लागेको छ । सबैभन्दा बढी कास्कीमा ३८२ हेक्टरमा डढेलो तथ्यांक छ । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब १ हजार २ सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको बताइन्छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोट जस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको छ ।
वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिन्छ । समयमै घाँस, दाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन । यसमा स्थानीयको सजगता सँगसँगै सरोकारवाला सरकारी निकायको साथ समेत जरुरी हुन्छ ।
विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनु जरुरी छ । चैतदेखि जेठसम्म आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम रहन्छ । जलवायु परिवर्तनको असर बढ्दै जाँदा गर्मीमा अझ बढी गर्मी र जाडोमा अझ बढी चिसोपन बढ्दै गएको छ । जसले गर्दा मानिसमात्र होइन, सबै जीवतन्तु र बोटविरुवा समेत प्रभावित हुँदै आएका छन् । पछिल्लो दशकको तथ्यांक हेर्ने हो आगलागीको दर बढ्दै गएको छ । सँगै त्यसले पुर्याउने क्षतिको दर पनि उत्तिकै बढ्दै गएको छ । आगलागीले मानवीय क्षतिका कारण धन सम्पत्तिको पनि अपूरणीय क्षति हुने गरेको छ भने डढेलोका कारण मानवमात्र होइन, जैविक विविधता र सम्पूर्ण पारिस्थितिकीय प्रणाली नै नष्ट हुने गर्दछ ।
करिब ४५ प्रतिशत क्षेत्रफल वन जंगलले ढाकेको देश भएकाले पनि प्राकृतिक स्रोत र साधनको संरक्षण नेपालका लागि प्राथमिक एजेन्डा हो । त्यसो त जलवायु परिवर्तनको असरले सिर्जना गर्ने भयावह अवस्था जति बढिरहेको छ, नेपालमा बढ्दो वन क्षेत्रका कारण विश्व समुदायलाई नै चुनौती दिन सक्ने क्षेत्र पनि हाम्रा लागि यही बन्न पुगेको छ । नेपालमा वन र पर्यावरण क्षेत्रको सबैभन्दा विनाशकारी शत्रु डढेलो हो ।
डढेलो फैलनुका मुख्यतया दुई कारण रहेका छन्ः प्राकृतिक र मानवीय । एक प्रतिशतभन्दा कम प्राकृतिक कारण र ९९ प्रतिशत भन्दा बढी मानवीय क्रियाकलापका कारणले डढेलो फैलने गरेको छ । अधिकांश डढेलोका घटना मानवीय कारणले हुने भएकाले डढेलो नियन्त्रणका लागि पनि मानवीय भूमिका नै महत्वपूर्ण रहन्छ । डढेलोका घटना न्यून गर्न आम नागरिक सचेत हुने कुरा नै महत्वपूर्ण छ । डढेलो न्यूनीकरणका लागि सचेतना र नियन्त्रणका लागि पूर्वतयारीलाई सँगसँगै अघि बढाउन आवश्यक छ ।








सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया