सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने

समाधान संवाददाता २०८० चैत ११ गते १२:४९

पोखरा ।

Advertisement

पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबार पनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदर लगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।


शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम, पश्चिम रुकुम लगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक तथा खुद्रा सामान खरिद गर्न आउने ग्राहक मारमा परेकाले उनीहरुलाई सहज बनाउनपनि शनिबार व्यवसाय खुला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

Advertisement


व्यवसाय खुला गर्ने निर्णय गरिए पनि बाध्यकारी नभएको उनको भनाइ छ । ‘हाम्रो आग्रह खोल्नूस् भन्ने हो,’ उनले भने, ‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्छ ।’

यसैबीच, समितिले नयाँ वर्ष २०८० को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकालाई समेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका वरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छवीलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लामा पुगेर बजार प्रवद्र्धन गर्ने उनले बताए ।

Advertisement


‘क्यालेन्डर बजार प्रवद्र्धन गर्नका लागि कोशेढुंगा साबित हुनेछ,’ उनले भने, ‘आक्रामक मार्केटिङमार्फत सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्रान्ड बनाउनेछौं ।’

समितिले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गर्ने भएको छ । चैतको अन्तिम साता वा बैशाखको पहिलो साता पारी शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन एकसाथ गर्ने तयारी गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

समितिले नयाँ वर्षको अवसरमा बालबालिका तथा प्रौढहरुका लागि स्पोर्ट्स मिटसमेत गर्ने तयारी गरेको छ । सर्वेश्वर व्यवसायी समितिमा आबद्ध व्यवसायी तथा तिनका छोराछोरीलाई आपसमा घुलमिल गराउँदै भातृत्व भावनाको विकास गराउने उद्देश्यले स्पोर्टस मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । स्पोर्ट्स मिटमा छात्र/छात्राका लागि छुट्टाछुट्टै रिले दौड, १ सय मिटर दौड, प्रौढ तथा बालबालिका दुबैका लागि फुटसल, व्याडमिन्टन लगायतका खेल खेलाइनेछ ।

सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाइल्यान्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्ने गरेका छन् । यसो हुँदा गुणस्तरीय सामान सस्तोमा पाइने सर्वेश्वर मार्गका व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया